जैविक विविधता, जलाधार क्षेत्र, जलवायु, नेपाली कला–संस्कृति, मानव तथा वातावरणीय अधिकारबारे समावेश गरी तयार गरिएको गीतिसंग्रहको सिम नेपाल र राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गर्दै राष्ट्रपति भण्डारीले सो कुरा बताएकी हुन् ।
‘सभ्यताको विकाससँगै हामीले पृथ्वीबाट निरन्तर महत्वपूर्ण लाभ लिइरहेका छौं’–राष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्–‘प्राकृतिक सम्पदाको अनियन्त्रित र अत्यधिक दोहनले वातावरणीय असन्तुलन बढ्दो छ, जलवायु परिवर्तन र वातावरण विनाशजस्ता जटिल समस्या उत्पन्न भइरहेका छन्, यसको नकारात्मक असर जैविक विविधता, हिमशृंखला, जलाधार र नदी प्रणालीमा परेको छ ।’
राष्ट्रपति भण्डारीले ‘देश प्राकृतिक प्रकोपको उच्च जोखिमयुक्त क्षेत्रमा पर्ने भएकाले बाढी–पहिरो र भूकम्पजस्ता विपत्तिबाट प्रभावित हुँदै आएको छ’–भनिन् ।
वातावरणलाई सन्तुलनमा राख्नसकेमा बाढी–पहिरोको जोखिम नियन्त्रण र न्यून गर्न सकिने, उपयुक्त स्थानमा वैज्ञानिक ढंगले व्यवस्थित बस्ती विकास गरी प्राकृतिक विपत्तिको प्रभावलाई न्यून गर्नसके मानवजीवन सुखी र सम्पन्न बनाउन सकिने राष्ट्रपति भण्डारीको भनाइ थियो ।
‘जीवनको स्रोत धरा हो, धराको संरक्षण नभएमा कसैको पनि कल्याण हुँदैन, उच्च हिमशृंखला, अद्वितीय सम्पदामा हाम्रो देशले दुर्लभ हिमचितुवा तथा बाघको संरक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ’–राष्ट्रपति भण्डारीले भनिन् ।
राष्ट्रपति भण्डारीले नेपालको अथाह सम्पदा नदी प्रणालीबाट विद्युत् उत्पादन गरी वातावरणमैत्री औद्योगिकरण, कृषिको आधुनिकीकरणसँगै सामाजिक र आर्थिक विकासको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रपति भण्डारीले पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा आएको बाढी–पहिरोबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गरिन् ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेसँगै ३६५ जना ख्यातिप्राप्त नेपाली गायक–गायिका एवं संगीतकर्मी कलाकारले संग्रहका गीतमा स्वर दिएका छन् ।
संग्रहमा ३३ मिनेट ४९ सेकेन्डको वातावरणसम्बन्धी आधुनिक, लोक, पपलगायतका गीत रहेका छन् ।
राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले वातावरण जोगाउने अभियानअन्तर्गत् सबै कलाकारको स्वरमा सजिएको वातावरणीय गतिविधिको संरक्षणसम्बन्धी श्रव्यदृष्य र गीति एल्बम सार्वजनिक गरिएको जानकारी दिए ।
कार्यक्रममा वातावरण संरक्षणमा योगदान पुर्याएबापत विभिन्न व्यक्तित्वलाई सम्मान पनि गरिएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्