नदी पारीको प्रयोगविहीन पानीलाई वारीको खेतीयोग्य जमिनमा प्रयोग गर्न झोलुङ्गे पुल माध्यम बनेको हो ।
धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभुमि एक सफाईटारका बासिन्दा तमोर नदी पारी सागुरी गढी गाँउपालिकाको लेमलेमा खोलाबाट पानी ल्याएर सिँचाई गदै आएका छन् ।
गाँउपारी प्रयोगबिहिन पाखोमा खेर गएको पानी गाउँसम्म ल्याउनको लागि नदी पारी चार सय मिटर पक्की कुलो निर्माण गरिएको छ ।
पानीलाई तमोर नदी पारी तार्न भने करीव सात सय मिटर लामो फलामे पाइप मार्फत झोलुङ्गे पुलको प्रयोग गरिएको छ ।
नदी पारीको पानी वारी ल्याउने अन्य कुनै बिकल्प नभएपछि झोलुङ्गे पुल मार्फत ल्याईएको आयोजनाका पुर्ब अध्यक्ष कुल बहादुर खड्का वताउँछन् ।
त्यसो त आयोजना सञ्चालनको लागि स्थानीयले निकै लामो समय कुर्नु परेको थियो ।
२०२८ सालवाट नदी पारीको पानी वारी ल्याउन माग राख्दै आए पनि २०५३ सालमा तमोर नदीमाथि जिल्ला बिकास समिति धनकुटाले पुल निर्माण गरेपछि मात्र उनीहरुको सपना साकार भएको थियो ।
पुल निर्माण भएपछि सुरु गरिएको सिँचाई आयोजना करीव नौ लाख रुपैयाँको लागतमा २०५६ सालमा मात्र पुरा भई गाँउमा सिँचाई सुबिधा पुगेको आयोजनाको अध्यक्ष हरी बहादुर खड्का बताउँछन् ।
सोहि आयोजनाबाट २८ बर्ष यता सफाईटारका ५२ परिवारले करीब ५० हेक्टर जमिन सिँचाई गर्दै आएका छन् । सिँचाईकै कारण स्थानीयको जिवनस्तरमा निकै सुधार आएको छ ।
हाल उनीहरु ब्यावसायिक कृषि पेसा तर्फ आकर्षित भएका छन् ।
यहि आयोजनालाई आधार मान्दै धनकुटाको साप्तीङ्गटारमा समेत तमोर नदी पारीवाट अर्को आयोजना सञ्चालनको तयारी गरिएको सिँचाई डिभिजन कार्यालय धनकुटाले जनाएको छ ।
यस्ता आयोजना धनकुटा बाहेक पहाडी क्षेत्रका लागि समेत उपयागी हुने सिँचाई डिभिजन कार्यलय धनकुटाका सिनियर एसासीएसन अर्गनाईजर बुद्धिमान लिम्बु बताउँछन् ।
आयोजना सञ्चालनमा आए संगै प्रशस्त पानीको स्रोत भएका तर उपयोगबिहिन पानी नदी वा खोला तारेर बस्तीसम्म पुर्याउन यस्ता पुल र आयोजना सफलसिद्ध हुने देखिन्छ ।










प्रतिक्रिया दिनुहोस्