
प्रकाश नेपाल/ईमेज
इलाम । पर्यटकीय नगरी इलाम सुगम जिल्लामध्ये एक पर्दछ । तर यहाँ रहेको एक मात्र सरकारी अस्पतालमा आइसियूसम्मको सुबिधा नहुँदा यहाँ आउने विरामी अन्यत्र जानुपर्ने बाध्यतामा छन् ।
इलाममा १६ औं चरणको सत्याग्रहमा रहेका डा. गोविन्द केसीलाई समेत आईसीयू नहुँदा उपचारमा समस्या भएको छ ।
सरकारी अस्पतालहरुको यस्तै अवस्थाको अन्त्यका लागि डा. केसी पटक पटक अनसन बसिरहनु परेको हो ।
वि.स. २०६९ सालदेखि चरणबद्ध रुपमा आमरण अनशनमा होमिएका डा. गोविन्द केसीको जारी अनशन १६ औँ चरणको हो ।
डा. केसीसँग हरेक सरकारले सम्झौता गरिरहेका छन् तर सम्झौता पालनामा बेइमानी र कपट गर्दा पटकपटक अनशन गरिरहनुपरेको छ ।
कहिले कर्णालीमा पुगेर त कहिले इलाम पुगेर उनले आफ्नो सत्याग्रहलाई जारी राखेका छन् ।
काठमाडौँमा मात्र मेडिकल शिक्षालाई सीमित नराखी सातै प्रदेशमा सर्वसुलभ र सहज तरिकाले पाउनुपर्छ भन्नेमा केसी दृढ छन् ।
मेडिकल माफियाविरुद्ध कठोर बनेका केसीका माग आम जनताका सबालका विषय बनेका छन् ।
अहिले केसीले अनशन गरिरहेको जिल्ला इलाम हो जहाँ सुविधासम्पन्न एउटा पनि अस्पताल बन्न सकेको छैन ।
आईसीयू सेवाको समेत पहुँच नभएकाले डा. केसीको उपचारका लािग धरानबाट विशेषज्ञ झिकाउनुपर्यो ।
यस्तै दयनीय अवस्थाबाट सबै नागरिकले पार पाउनुपर्छ र स्वास्थ्यजस्तो अति सम्वेदनशील विषयमा सरकार पनि सम्वेदनशील बन्नुपर्छ भन्नेलगायतका विषय केसीको मागले समेटेका छन् ।
अधिकांश जिल्लामा भएका सबैभन्दा ठूला अस्पतालमा पनि सामान्य सेवासुविधा नहुँदा कैयौँ व्यक्तिको अकालमै मर्नुपरेको यथार्थ हामीमाँझ छँदैछ ।
निस्वार्थ आजीवन मानवसेवामा होमिएका केसीका जायज मागको उपेक्षा होइन सम्बोधन खोजिनुपर्छ ।
सबै ठाउँका सबै वर्गका मानिसले सरल सहज र समान किसिमले सुविधा पाउनुपर्छ भन्ने सार र भाव डा. केसीका मागमा भेटिन्छ । हरेक पटकका सरकारले सम्झौताविपरीत छलकपट र बेइमानी गर्दा डा. केसी यो अवस्थामा पुगेका छन् ।
डा. केसीको आन्दोलनको शैली, तरिका र व्यक्तिगत स्वभावलाई औजार बनाएर जायज माग ओझेलमा पार्ने काम उचित हुँदैन । वार्ताको माध्यमबाट मध्यमार्गी बाटो समाउन केसी र सरकारले पहल गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्