Logo ३० बैशाख २०८३, बुधबार | Thu May 14 2026


घरभित्रै गोही पसेपछि…


0
Shares

रत्ननगर नगरपालिका–१५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई बुधबार सौराहानजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

उनकाअनुसार घरको पिँढीमा मगर गोही सुतिरहेको देखेपछि स्थानीयवासीको आग्रहमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नियन्त्रणमा लिन खोज्दा घरभित्र पसेकाले बोराले आँखा छोपेर नियन्त्रणमा लिएका थिए ।

गोही ९० सेन्टिमिटर लामो तथा करिब २० किलोको रहेको निकुञ्जको अनुमान छ ।

बिहान उठ्नेबित्तिकै इन्दिरा न्यौपानेले ढोका खोल्दा पिँढीको खाटमुनि घुम्रिएर सुतिरहेको वस्तु देखिन् । त्यही खाटमाथि उनका ससुरा हरिदत्त न्यौपाने मस्त निन्द्रामा सुतिरहेका थिए ।

‘लौ कुकुर पो आएर सुतेछ भनेर धपाउन खोज्दा स्वाँ… गरेर ठूलो मुख पार्‍यो र झम्ट्यो अनि साह्रै डर लाग्यो’–न्यौपानेले भनिन् । उनले यसअघि कहिल्यै गोही देखेकी थिइनन् ।

उनका श्रीमान् लोकनाथ न्यौपानेले प्रहरी र निकुञ्जलाई खबर गरेको रत्ननगर नगरपालिका–१५ का वडासदस्य रामकृष्ण खड्का बताए । रासस