
जब युद्ध समाप्त भयो, पितामह शरशैयामा सुतिरहनु भएको थियो, युधिष्ठिरलाई भेट्न जान मन भए पनि लाचार भएर जान सकेको सायद यसकारणले थिएन कि आखिर पितामह विरोधी सेनाको महानायक त हुनुहुन्थ्यो नै । सेनापति हुनुहुन्थ्यो । कुरुवंशको अन्तिम धरोहर रगतको प्रत्यक्ष साइनोमा । अठार दिनसम्म चलेको त्यो महान युद्धमा उहाँले दश दिनसम्मको क्षति त पुर्याउनु भएकै थियो । दश दिनसम्म त प्रत्यक्षरुपमा सेनापति भएर युद्ध सञ्चालन गर्नै त भएको थियो । आफू त बुहारी, अनुशासित बुहारी । दोहोरो कुरासम्म पनि गर्न सकिएन । तर एउटा कुरा भने सबैमा बिजेको भने थियो, मलाई देख्ने बित्तिकै जेठाजु पनि, पितामह पनि, गुरुहरु द्रोण तथा कृपाचार्य, दिदी गान्धारी सबै नै पाण्डवको हितका कुरा गर्थे र उनीहरु सकुशल फिर्ता हुने कुरामा सकारात्मकता देखाउँथे ।
मनका कुरा, गोप्य कुरा भनेको औपचारिक होइन । राज्य भनेको औपचारिक नियम र कानुनले चल्ने सँस्था हो । त्यसमा शासक देखिन्छ, राम्रो वा नराम्रो कामको भागिदार ठहरिन्छ । त्यसैले भित्र भइरहेको कुराको हकमा, त्यो कुरा दुनियाँलाई भनेपछि, त्यो पनि सप्रमाण भनेपछि मात्र पत्याउने हुन । नत्रभने हाम्रो परिवारको समस्यालाई समाधान गर्न नसकेर नै पारिवारिक समस्याले विश्वयुद्धको स्वरुप ग्रहण गरेको हो । म किन त्यसलाई विश्वयुद्ध भन्न मन पराउँछु भने कोही पनि हाम्रो परिवारको युद्धमा, विवादमा निष्पक्ष रहन सकेन । अरु त अरु, म स्वयं पनि महाराज धृतराष्ट्रकी भाइ बुहारी, पूर्व चक्रवर्ती राजा पाण्डुकी रानी, हस्तिनापुर दरबारमा बस्दा पनि दुर्योधनतर्फ लाग्न सकिन । आफ्नै छोराहरुको न्यायका लागि तड्पी रहेँ । तर बोल्न सक्दैनथे ।
प्राकृतिक न्यायका दृष्टिकोणले अनुमान लगाउने कुरा मात्र थियो कि म एउटी पीडित आमा, सन्तानलाई बनवास पठाएर शरणागती हस्तिनापुरमा बसेकीलाई पक्कै आफ्ना छोराहरु सकुशल आऊन्, युद्धविजयी होऊन् र पुर्खाले झैं भारतवर्षमा राज्य निष्कण्टक गरून् । आफ्ना छोराहरु बनबास र गुप्तबास सकेर आएपछि सके पाण्डुको सम्पूर्ण राज्य चलाउन पाऊन्, नभए पनि पछि भागबन्डा लगाएर दिएको इन्द्रप्रस्थ भए पनि यथावत पाऊन् । अर्थात् पहिलेकै राज्य न्याय पाऊन् र ज्येष्ठपिताको भागमा परेको हस्तिनापुर राज्यसँग मिलेर महान भारतवर्षको रक्षा गर्दै सहर्ष दुर्योधनादिसँग मिलेर बसून् । कृष्णले युधिष्ठिरलाई हिम्मत दिएको रहेछ-जाउँ पितामह नजिक । गएर उहाँसँग भएको अथाह ज्ञानभण्डारबाट केही त प्राप्त गरुँ । राज्य सञ्चालनका लागि गुरु वशिष्ठसँग, परशुरामसँग र अरु धेरै समकालीन विज्ञहरुसँग शिक्षा लिनु भएको थियो ।
युधिष्ठिर आखिर थियो त राजा धृतराष्ट्रको उत्तराधिकारी । चक्रवर्ती पाण्डुको जेठो छोरो भारतवर्षको भावी चक्रवर्ती । तर पनि मेरो छोरो साँच्चै धर्मात्मा त हो, उसले स्पष्टरुपमा जेठाजुसँग गएर मागेन राज्य, खोसेन राज्य र अधिकार । अधिकार जनाउन चाहेन त्यसरी जित्दा पनि । भनेन कहिल्यै पनि कि अब म राजा भएँ । तपाईंको यो राज्यमा कुनै हकअधिकार हुनेछैन । बरु पछि भन्यो पनि-यो राज्य त हजुरको हो, म त एउटा हजुरको दास तथा जनताको सेवक मात्र हुँ । हजुरको आज्ञा शिरोपर गरेर राज्य सञ्चालन गर्ने मात्र हो । यसै पनि एउटा साधु स्वभावको युधिष्ठिर , राज्य सञ्चालनमा साँँच्चै लाग्न चाहेको थिएन । उसलाई बन्धुबान्धवको हत्या गरेर प्राप्त राज्यको महत्व खासै थिएन । झन त्यही युद्धमा घटोत्कच मारियो, घटोत्कचको छोरो मेरा पनाति बर्बरिकले मोक्ष प्राप्त गर्यो, अर्जुन-सुभद्रा पुत्र महारथी अभिमन्यु मारियो, द्रौपदीका पाँच भाइ छोराको हत्या भयो गुरुपुत्र द्रोणीबाट । कर्ण पनि त्यही युद्धमा मारियो । कस्तो बिडम्बना, छोरा, नाति, पनातिहरुको अन्त्य भएको छ, मारिएका छन् अनि त्यही लासमाथि तत्काल राज्यको जिम्मा लिनु परेको थियो युधिष्ठिरले । अनि त उसलाई वास्तवमा वैराग्यपन उब्जिएकै थियो ।
जेठाजुसँगको बसाइ एकप्रकारको बोझिलो हुने मलाईसमेत पनि । झन युधिष्ठिरलाई त हुन्थ्यो नै होला । त्यही भावनाको उतार चढाबको समयमा नै पितामहसँग ज्ञान लिने कुरा कृष्णले चलाएछन् । जाने नै निधो भएपछि गएछ कृष्णसँगै । जब युधिष्ठिर पितामहनेर, बडो लजाउँदै,पश्चातापको भारीले किचिएर पुगेछ । तर कृष्णले त्यो स्थितिलाई सहजीकरण गर्दै पितामहलाई कुनै पीडा नहुने गरी व्यवस्था मिलाएछ र युधिष्ठिरलाई राज्य सञ्चालनार्थ उपदेश दिनका लागि, अनुभवहरु आदान प्रदान गर्नका लागि उत्प्रेरित गरेछ । कति चलाख छ मेरो माइती भदो । साँच्चै यस कालखण्डमा कृष्ण बराबरको अर्को कूटनीतिज्ञ र व्यवहार कुशल अनि अडान लिनसक्ने मान्छे सायद जन्मेको पनि छैन, तत्काल निकट भविष्यमा नजन्मेलान् पनि । त्यसैल पनि होला, अपरिमित क्षमताको धनी भएकाले भगवान नै मानेका त छौँ हामी सबैले । भविष्यको कुरा त जहिले पनि भन्दिन्छ त ऊ ।
पितामहले सायद वर्तमान महाराज धृतराष्ट्रसँग सँगै बस्न पनि नसकिने कुरालाई यसरी एउटा कथाको प्रसङ्गले सहज बनाउनु भएछ र भन्नु भएछ-अप्रत्याशित र भवितव्यले अर्काको हानि पुर्याउँद त, क्षमा दिईसक्दा त एकअर्कासँग सजग र सतर्क हुनुपर्छ भन्ने आशयको उदाहरण दिनु भएको रहेछ ।ब्रह्मदत्त नामका राजाको दरबारमा एउटा पुजनी नामको भँगेरी थिई । राजालाई राज्यका कतिपय जटिलतम विषयमा समेत सल्लाह दिनसक्ने क्षमताकी पुजनी दरबारको एउटा दलिनमा बडो खुसी थिई । दरबारको एउटा सदस्य जस्तै निर्भयका साथ रहेकी थिई । चरीको बचेरोसँग राजाको एकमात्र छोरो पनि खेल्ने गथ्र्यो । एकदिन निरपराध राजकुमारले बचेरोलाई हातमा लिएर निमोठेछ र मारेछ । पुजनी कतैबाट चारो लिएर आफ्नो गुँडमा आउँदा त राजकुमारको हातमा बच्चा किचिपिची भएको देखेर रीस थाम्न सकिन र ठुुङेर, चिथोरेर राजकुमारको दुबै आँखा फुटाएर दुई टोड्कामात्र बाँकी राखेर कुनै रुखको हाँगामा गएर बसेकी थिई । त्यही बेलामा राजा पनि त्यहाँ आइपुगे र सबै कुरा थाहा पाए । राजालाई ग्लानि भयो आफ्ना छोराले पुजनीको बचेरो मारेकोमा र गएर रुखमा बसेको चरासँग माफी मागे र भने-पुजनी यो भवितव्यमा भएको घटना हो, यसमा मैले माफी मागेँ र क्षोभ व्यक्त गरेँ । अब तिमी मेरो दरबार छोडेर जाने कुरा नगर । अनि पुजनीले भनिछे-महाराज, यो भवितव्य नै हो र राजकुमारले पनि कुनै योजनाबद्ध र रीसइवीले मेरो बचेरो मारेको होइन । तर जब मैले आफ्नो बच्चाको त्यो हबिगत देखें, रिस थाम्न सकिन र दुवै आँखा फोडेर टोड्का बनाएँ । यो देशको भावी राजा दृष्टिविहीन भएका छन् । हाम्रा बिचमा अब कुनै रीसराग पनि रहेन ।
तर जब जब महाराजले यो दृष्टिविहीन युवराजलाई देख्नुहुन्छ, मलाई सम्झनु हुनेछ र जबजब म यो राजकुमारलाई देख्नेछु, मैले पनि पुत्रहन्ताको रुपमा उसलाई पाउने छु । त्यसैले अब जे भए पनि महाराज र मेरो मनमा त्यो तुस रहिरहने छ । त्यसैले अब म जान्छु, मलाई विदा दिनुहोस् । अर्थात् त्यो भवितव्यमा भएको दुर्घटनामा त त्यस्तो तुस बाँकी रहने कुरा हुन्छ भने यो त जानाजान एकले अर्कोलाई मारेकै हो र राज्य जितेकै हो । पक्कै जेठाजुलाई मेरा छोराहरु नजिक आउँदा पनि पुत्रहन्ता, राज्य विजेता शत्रुको रुपमा आभास हुनेछ । कति राम्रोसँग पितामहले युधिष्ठिरलाई सजग, सचेत गराउनु भएछ भने । हो पनि, कुनै पनि आहत र आघात पाएको वीरले अर्को समय पर्खेर बसेको हुन्छ आघात पार्न । मौका पाएपछि आघात गर्नेछ । त्यसैले जतिसुकै विश्वास देखाए पनि भित्र मनमा जुन तुस बाँकी हुन्छ, कुनै पनि बेला विस्फोट हुनसक्छ भनेर सम्झाउनु भएछ ।
त्यस्तो भएको पनि त थियो भीमका लागि । जब जेठाजुलाई राजाको रुपमा दर्शन गर्न युद्धको समाप्तिपछि मेरा छोराहरु गए, जेठाजुले भीमलाई किचिमिची पार्नु भएकै हो । धन्य, कृष्णको बुद्धि । उसले तुरुन्त फलामको प्रतिमा अघि सारेछ । त्यो फलामको प्रतिमा नै धुलापिठो भएछ । यदि भीम नै त्यो मारमा परेको भए ? अनि जेठाजु रुन थाल्नुभएछ-मैले मेरो भाइको छोरालाई मारें, हाय भीम अब तिमीलाई म कहाँ भेट्नु ? मेरो बुद्धि त खेरै गयो नि ? जब कृष्णले भनेछ-भीम त जीवित छ महाराज, तपाईँले फलामको प्रतिमालाई धुलोपिठो बनाउनु भएको हो । त्यो घटनाले जेठाजुको आन्तरिक रीसलाई इंगित गरेको थियो, उहाँको भित्री नियत उजागर गरेको थियो । त्यसपछि उहाँ सधैँ एकान्तबास बस्न रुचाउनु हुन्थ्यो । मलाई यो बनमा त सधैं उकुस मुकुस महसुस हुन्थ्यो । त्यो दिन पनि कृष्ण त्यहाँ हुन्थेन भने के हुन्थ्यो ? हुन त के हुन्थ्यो, यो दुखियाको एउटा छोरो कमी हुन्थ्यो । तर त्यो वेदना कस्तो हुन्थ्यो भन्ने कुरा अहिले पनि जेठाजु र दिदीको अन्तरात्मा जब पढ्छु, अनि आत्मानुभूति गर्दछु ।
साँच्चै अद्भूत छ त मेरो भदाहा कृष्ण काले । कान्हा । एउटा सम्मोहन छ उसको व्यक्तित्वमा, कृष्णको व्यक्तित्वमा, चमक छ स्वर्गीय देदीप्यमान शक्तिसहितको । विरोधीका लागि ऊ अपराजित योद्धा र अजातशत्रु । उसको नामसँगै कम्पायमान । साम, दान, दण्ड र भेद चारैप्रकारको क्षमताको धनी । पक्षधरका लागि ऊ भगवान, साक्षात ईश्वर । अनुकम्पा गर्ने ईश्वर । सम्पूर्ण कलाको मालिक , परमधामको लागि एउटा मात्र आधार । फेरि कहिल्यै जन्म मृत्यु हुनु नपर्ने गरी मोक्ष प्राप्त गराउने अक्षरातीत परमेश्वर । परमात्मा । अनि जो जो शत्रु हुन् भनेर किटान गरिएका हुन् , ती सबै मोक्षका लागि उसलाई उराल्नेहरु नै हुन् भनिन्छ । चाहे शिशुपाल होस् वा कंस । दुर्योधन होस् वा कर्ण । स्वयम् गान्धारी दिदीको विचारमा पनि यदि कृष्णले चाहेको भए यो युद्ध पनि नहुने र एकसय पाँच भाइहरु मिलेर बस्ने थिए रे । होला, नियतिको इच्छा त्यस्तै हुँदो हो भने । यदि कृष्ण नै यी सबै कुराको अभियन्ता थियो भने जे हुनु पर्ने थियो, त्यही सम्पादन भएकै होला । यही कुरा त बर्बरिकले भनेको रहेछ पछि कुरुक्षेत्रको डाँडोको माथि रहेको उसको टाउकोले । मेरो पनाति । एउटा अत्यन्त वीरपुरुष । नयाँ इतिहास बनाउन नपाउँदै हामीलाई छोडेर गयो, कता गयो कता गयो, आकाशको तारा विहान कतै देख्न नपाएको जस्तै गरी । एउटा माया देखायो, अनि हामीलाई छोडेर गयो । ( क्रमशः)
प्रतिक्रिया दिनुहोस्