Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


पहिरोले १२ दिनदेखि यातायात अवरुद्ध


0
Shares

पहिरोले जाजरकोट–डोल्पा सडकको खलंगा–रिम्ना खन्ड भत्किएको छ । यातायात अवरुद्ध हुँदा यात्री खलंगादेखि रिम्नासम्म चार/पाँच घन्टा पैदल हिँड्न बाध्य छन् ।

दैनिक उपभोग्य वस्तु ओसार–पसारमा पनि समस्या छ । पहिरोले पैदल यात्रीलाई आउजाउमासमेत जोखिम भएको छ । केन्द्रीय विद्युत् लाइन प्रसारणमा बाधा पुगेको छ ।

भत्किएको सडक पुनःनिर्माणका लागि सम्बन्धित निकायले वास्ता नगरेको गुनासो स्थानीयवासीको छ ।

‘पहिरो रोकथाम तथा सडक सन्चालन गर्न कुनैपनि निकायले पहल गरेका छैनन्’–स्थानीयवासी गणेश थापाले भने ।

यात्रीलाई पैदल आवत–जावतमा कठिनाइ भएको छ । बस्ती नै जोखिममा परेको छ । खलंगा–रिम्ना सडकको स्तरोन्नतिमा गुणस्तरीय काम नहुँदा पहिरो खसेको थापाले बताए ।

सडकमा ढल निकासको व्यवस्था नहुँदा बस्ती नै बग्ने गरी पहिरो गएको छ । रोजेन्द्र र जलजला जेभी काठमाडौंले न्युरोड क्षेत्रमा पर्खाल तथा ग्याबिनको काम गरेको थियो ।

सडक डिभिजन कार्यालय चौरजहारीले गुणस्तरमा बेवास्ता गर्दा पहिरोले क्षति व्यहोर्नुपरेको थापाले बताए ।

निर्माण व्यवसायीले पाँच महिनाअघि न्युरोडमा मनोमानी डिजाइनविपरीत पर्खाल तथा ग्याबिङकार्य गरेका थिए । सडक स्तरोन्नतिकार्य गुणस्तरीय नभएको भन्दै स्थानीयवासीले गत वैशाखमा विरोधसमेत गरेका थिए ।

पटक–पटक जिल्ला प्रशासन कार्यालयलगायत सरोकारवालाको ध्यानाकर्षण गराएपनि बेवास्ता भएको सरोकार समितिका अध्यक्ष अमरसिंह राठौरले बताए ।

‘सडकमा ढल निकासको व्यवस्था नगर्दा पनि पहिरो खसेको हो’–उनले भने ।

खलंगा–रिम्ना सडक स्तरोन्नतिकार्य रु १२ करोड लागतमा रोजेन्द्र र जलजला जेभी काठमाडौंले जिम्मा लिएको थियो । रासस