
योभन्दा अलि पर विभिन्न दार्शनिक र दिग्गजहरुले राजनीतिक दार्शनिक रुपमा गरेको परिभाषा हेरौं । ‘राष्ट्रवाद एउटा देशप्रेमी भावनामात्र हैन, यो समाजलाई राजनीतिक, आर्थिक, सामाजिक रुपले दिशा निर्देश गर्ने समाजवादी, साम्यवादी र पूंजीवादी जस्तै एउटा राजनीतक दर्शन हो । राजनीतिक बिम्ब हो ।’
‘राष्ट्रवाद राष्ट्रप्रतिको प्रेम तथा निष्ठा हो यसले समग्र राष्ट्रिय भावनालाई अभिव्यक्त गर्दछ । साथसाथै संगठित, एकीकृत र भावनात्मक शक्ति प्रदान गरि एकै सुत्रमा आवद्ध गर्दछ ।’
‘जनताको बीचमापैदा हुने भावनात्मक एकता नै राष्ट्रियता हो ।’
नेपाली राष्ट्र, राष्ट्रियता, अस्मिताको सन्दर्भमा बिपीले भनेका थिए– ‘सर्वप्रथम र अन्तिम तत्व भनेका नै जनता हुन् ।’
पृथ्वी नारायण शाहले पनि आफ्नो दिव्य उपदेशमा भनेको कुरा यहि हो– ‘प्रजा मोटा भया देश बलियो हुनेछ, देश बलियो हुनु भनेको दरबार बलियो हुनु हो ।’
आजसम्म भेटिएको दस्तावेज मध्ये पृथ्वीनारायण शाहको दिव्य उपदेश आज सम्मकै उत्कृस्ट रास्ट्रवादी दस्तावेज हो, जसमा जनता प्रधान मानेर आफ्नो सामर्थ्य र औकात अनुसार जनसेवा गर्नेकुरा उल्लेख छ । यसर्थ पनि हामी भन्न सक्छौं– सबै राजामहाराजादेखि राजनीतिज्ञ सम्मको उही र एकै अभिस्ट भनेको जनसेवा र जनहित नै हो । जनता बलियो हुनु भनेको देश बलियो हुनु हो ।
अब प्रश्न उठ्छ, के हामी बलिया छौ त ? हाम्रो देश बलियो छ त ? हो, हामी बलिया थियौं कुनैबेला, तर अहिले छैनौं । भीमकाय विशाल ठुला देशको माझमा च्यापिएर रहने भौगोलिक अवस्थिति हाम्रो गरिवीको कारण हो त ? पक्कै होइन । सानो हनु, सानो भूगोलमात्र हाम्रो हुनु देशको लागि गरिवीको कारण होइन र हुन् सक्तैन पनि । हामी अरुको कारणले भन्दा बढि आफ्ना कारणले गरिब, विपन्न र पछाडि परेका छौं । हामी कहिल्यै गरिव थिएनौ त ? हामी सम्पन्न र भरीभराउ नभए पनि हामी हामीले खाने अन्न बाली, हरिया सागसब्जी, आलु, प्याज लगायत अत्यावश्यक सामग्री आफै उत्पादन गर्थ्यौ र बाँकी अरुलाई बेच्थ्यौं, त्यतिबेलासम्म हामी सम्पन्न नभए पनि गरिब थिएनौं । लसुन, प्याज, खुर्सानी, कोदो, फापर, गहुँ, मकै तोरी, भटमास समेत खान आज हामीले अर्काको आशा गर्नु पर्ने भयो । आत्मनिर्भरता घट्दै गएर परनिर्भरता बढ्दै गयो, तब हामी गरिवीको दुस्चक्रमा फस्दै गयौं । अल्छे भयौं । हरेक कुरामा अर्काको मुख ताक्ने, सधैं अरुकै भरमा बस्नुपर्ने तर कुरा चै ठूलाठूला गर्नु पर्ने अनि हामीलाई कसले पत्याउँछ, विस्वास गर्छ ? हाम्रो सामर्थ्य केहीमा छैन तर आदर्श मात्र फलाक्ने ? आफ्नो सामर्थ्य र औकात नभएपछि अरुले हेप्ने, चेप्ने, दपेटने र उसको मर्जीमा चलाउन खोज्ने मान्छेको सामाजिक मनोविज्ञान बाट हामीमात्रै अछुतो कसरी हुन्छौ ? आन्तरिक रुपमा एकदम कमजोर, आफैंमा छिन्नभिन्न, भाडभैलो, जताततै प्रतिकूलतामात्रै भएपछि हामीलाई कसले गन्ने ? कसले मान्ने ? हामी कमजोर, अशक्त र क्षयीकरणमा पर्दै गर्दा अरुले आँखा लगाउने, अर्ति दिने, उपदेश दिने र विस्तारै आन्तरिक मामलामा पसेर खेल्न खोज्नु अस्वाभाविक होइन पक्कै पनि । हाम्रो प्रतिकुलातामा सधै अडीरहने, सामर्थ्य र क्षमता नभएपछि राष्ट्रियता स्वतः कमजोर हुन्छ । राष्ट्रियता कमजोर बनेपछि अरुले चल्ने खेल्ने र आफुलाई साखुल्ले बनाउने मौका पाउँछन् । हामी सामाजिक, आर्थिक, राजनीतिक र भौगोलिक रुपमा पनि कमजोर छौं, बन्दैछौं तर वेग, आवेग र आक्रोशका कुरा गरेर नारी सुर्कन माहिर छौं । कमजोर मनोवैज्ञानिक आवेशले हामीलाई बलियो हैन उल्टो झन् कमजोर र भयग्रस्त बनाउँछ । यस्तो बेला हाम्रो राष्ट्रियता कसरी मजबूत हुनसक्छ ? भारतजस्तो मिचाहा, पेलाहा र मैमत्त छिमेकी अनि चीन जस्तो वाचाल तर चिसो छिमेकीको चौघेरामा रहेका हामी कुटनीतिक र बौद्धिक पहलमानीमा चुकेका छौं । हाम्रो राष्ट्रियता भारत, चीनको कारणले भन्दा बढि आफ्ना आन्तरिक अस्तव्यस्तता, गन्जागोल र कुटनीतिक कौशल प्रदर्शन गर्न नसक्नुका कारण सकस र संकटपूर्ण अवस्थामा छ । हामीले हाम्रो लागि र हाम्रो परिवेश सुहाउँदो राजनीति रोजेनौं, अरुले जे सिकाए, जस्तो पढाए, त्यो हाम्रो वास्तविकतासँग मेल नखाए पनि हामीले चुपचाप स्वीकार ग¥यौं । आज यो अनिश्चय र अन्योल अनि शृंखलाबद्ध अनिस्टको भुमरीमा प¥यौं । सत्ता र शक्ति आर्जन गर्ने हिसावमा बेहिसाब अरुलाई छिर्न ठाउँ राखिदियौं । अब भनौं हाम्रो राष्ट्रियता किन बलियो भएन ? हाम्रो राष्ट्रियता बलियो हुन हाम्रो पाखो बारीमा कोदो फल्नुपर्छ, करेसाबारीमा खोर्सानी, लसुन, प्याज र साग सब्जीले ढाक्नु पर्छ । राष्ट्रियता ठूलाठूला कुरामा हैन, सामान्य व्यवहार र कर्ममा बलियो अनि गौरवशाली हुन्छ । देशको माया भाषणमा र कसैको आरती स्तुतीमा हैन, असल कर्म र सच्चाईमा हुन्छ । राष्ट्रवाद एकातिरको निर्भरता अर्कोतिर सारेर हुन्छ कि आफ्नै स्वार्जन र मेहनतमा ? राष्ट्रवाद भनेको केवल ढुंगा माटोलाई अंगालेर बस्नुमात्र हो कि जनताको पक्षमा ढुंगा माटोको उचित प्रयोग गर्नु पनि हो ? कुनै अमुक छिमेकीको विरोध र अर्को छिमेकीको चाकडी गर्नु राष्ट्रको माया हो ? भ्रष्टाचार गर्नु अनि भ्रष्टाचारी फेरि लाभको पदमा पुग्ने कानुन बनाउने पहल देशको मायाभित्र पर्छ ?
राष्ट्रवाद भनेको ढुंगा, माटो, रुख, बोट बिरुवा, नदि र भौगोलिक सिमामात्र हैन, त्यहाँभित्र बसोबास गर्नेको सुख–दुःख, पिर–मर्का, स्वास्थ्य हासो खुशी हो । राष्ट्रवाद ब्यवहारको कसी हो, शब्द लेख्ने मसि र मुखमात्र बोल्ने कुरा होइन, यो त ब्यवहारिक आदर्श हो । नेता के पी ओली ज्यु, तपाईहरुको ब्यवहारिक आदर्श खै कहाँ छ ? शालीन र आदर्शवादी नेता कमरेड मनमोहनको नामलाई क्षणिक स्वार्थको ब्यापारमा मुछ्नु हुन्छ ? विवादित बनाउनु हुन्छ ? ब्यवहारमा अगतिशील, अन्धविश्वासी, अनाचारी तर सिद्धान्तमा साम्यवादी अनि प्रगतिशील ? कसैलाई गालीगलौज गर्नु प¥यो भने उसको कार्यगत क्षमताको र शैलीको बारेमा भन्ने बोल्ने आलोचना गर्ने कति हो कति ठाउँ र त्रुटीहरु छन् तर तपाई अलच्छिन र अपसगुन अनि असाईतको भन्नु हुन्छ, शारीरिक कमजोरीलाई खिशी र उपहास गर्नु हुन्छ तर पनि तपाई कम्युनिस्ट नेता ? सिद्धान्तमा दाइजो विरोधी हुनुहुन्छ तर आफ्नो सम्पती विवरणमा श्रीमतीको दाइजो भनी उल्लेख गर्नु हुन्छ तर पनि तपाई प्रगतिशील ? राज्यको खर्चमा आफु विदेशको महँगो अस्पतालमा उपचार गराउन जानुहुन्छ तर गरिब जनताले तपाइको पार्टीको नेताले चलाएको काठमाडौं नेशनल मेडिकल कलेज घट्टेकुलो जसको बारेमा अब कसलाई थाहा नहोला ? त्यहाँ र त्यस्तै विकृत र स्वार्थको व्यापार गर्ने ठाउँमा उपचार गर भन्नु हुन्छ ? राष्ट्रवाद भनेको भोकाको पेटमा रोटी र नांगाको आंगमा कपडा हुनुपर्छ होइन र ? माफिया, दलाल र भ्रष्टको संरक्षण र तिनका लागि चुनावको टिकेट राष्ट्रवाद हो महाशय ? झिल्के राष्ट्रवादको जामा लाउँदैमा सधैं राष्ट्रवादी कहलिन्न हजुर । हिजो राष्ट्रवादको नाममा तपाईले लिनु भएको अडान र अठोट कसका लागि र कुन स्वार्थको लागि हो ? आफ्नो पार्टीको सानो घेराको स्वार्थको लागि जनताको स्वास्थ्यमा खेलवाड गर्नेको पृष्ठपोषण तपाईको उचाईलाई मेल खाँदैन कमरेड । आफ्नो तौल र उचाई अनि पार्टीको गरिमा घटाउने काम बन्द गर्नोस् महाशय । राष्ट्रवाद भनेको त कुनै पनि कर्म जसले व्यक्तिगत र सानो सामुहिक स्वार्थको तहभन्दा माथि उठेर राष्ट्रलाई एउटा सामुहिक एकाइको रुपमा उत्थान , सम्वृद्धि र प्रगतितिर लैजान्छ हैन र ? राष्ट्र र देशको माया भनेको शक्ति र सत्ता हत्याउन राष्ट्रियताको सौदाबाजी हो महाशय ? तपाईलाई घ्यु बेच्ने स्वतन्त्रता छ, पानी बेच्ने स्वतन्त्रता छ, अनि गुहु बेच्ने पनि तर जे बेच्नुस शुद्ध बेच्नुस्, गुहुमा घ्यु मिसाएर नबेच्नुस् । तपाईले जे बेच्नु हुन्छ सोहि दर्जा मिल्छ तर तपाईहरु (राजनीतिज्ञहरु)ले गुहुमा घ्यु मिसाएर बेच्नु हुन्छ तर शुद्ध र ब्रान्डेड घ्युको प्रचार गर्नु हुन्छ । कति दिन मखुण्डोभित्र लुकाउनु हुन्छ आफ्नो छदमभेष ? समाजवादी बिपी कोइराला राजाले कार उपहार दिन्छु भन्दा मेरो कार चढ्ने आर्थिक हैसियत हुन्न प्रधानमन्त्रीबाट हटेपछि भनेर अस्विकार गर्थे, आज तिनै कोइरालाका अनुयायी र चेलाहरू भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने लज्जास्पद जिकिर गर्छन् । बिपी कोइराला सत्ताको लागि देश र राष्ट्रियताको सौदाबाजी गर्दैनथे तर आज कांग्रेसीहरु सत्तामा पुग्न बाँकी केहि राख्दैनन् किन ? बरु पूर्वराजा ज्ञानेन्द्रलाई सोध्नुस् र सम्झनुस्, सत्ता ठुलो कि देश ? ज्ञानेन्द्रको राष्ट्रप्रेम तपाईहरु भन्दा धेरै माथि छ, अब उनैलाई सोधौ देश प्रेम भनेको के हो ? भलै ज्ञानेन्द्र चुकेका छन् होलान् तर उनले हाल प्रदर्शन गरेको देश प्रेम उच्च कोटीको छ ।
हाल बिध्यमान पार्टीहरु र यिनका नेताहरुमा देशभक्ति ओठमा छ, आडम्बरमा छ, अहंकारमा छ, आवरणमा छ तर ब्यवहारमा छैन । वरणमा छैन । हिजो जनयुद्ध भनेर मान्छे काट्दै गर्दा कतिपय सामाजिक विकृति र विसंगति अनि सामाजिक अब्यवस्थाप्रति तपाईहरुले लिनु भएको नीति र ब्यवहार आज कता गयो कमरेड पुष्पकमल ? आज सबैभन्दा जड्याहा, जुवातास खेल्ने अनि बढी श्रीमती बटुल्ने अर्काको सम्पति हडप्ने कोहि खोज्न जानु पर्छ भने माओवादी केन्द्रतिर नै जानुपर्छ किन ? शुरुवाती दिनका केहि सकारात्मक आदर्श, मुल्य र रचनात्मक छवि माओवादीले पोली पकाई खाइसक्यो । अब नैतिक पतन, आदर्शको स्खलन र दिग्भ्रमित मानशिकता भन्दा बाकीं अब केहि छ र कमरेड ?
महाकाली सन्धीको २१ बर्षपछि आज के उपलब्धि भयो नेता ज्युहरु ? देउवा, ओली र पशुपति जबाफ दिनुस्, पश्चिमबाट घाम झुल्किन अब कति समय अरु पर्खनुपर्छ ? सुनको फुल पार्ने महाकाली सन्धीले कति फुल पा¥यो, कति चल्ला कोरल्यो ? जनतालाई थाहा छ सुनको फुल र चल्ला तपाईहरुको व्यक्तिगत जिन्दगीमा र तपाईहरुको पार्टी जीवनमा कोरलियो तर नेपाली जनताको घर आँगनमा केवल कोरलिएको अन्डाको खोक्रो बोक्रा अनि फोहोरको डङ्गुर र झुटा आश्वासनको चिल्ला पोका मात्र ? तपाईहरुको देशभक्ति खोज्न अब नेपाली जनताले कहाँ जाने ? किन तपाईहरु आफ्नो बुतामा उभिने ह्याउ गर्नु हुन्न ? किन तपाईहरुलाई अरुले नै बोकेर, डो¥याएर, थर्काएर, धम्क्याएर, हियाएर, पुल्पुल्याएर, उचाल्ने, पछार्ने र थचार्ने गर्छन् ? सत्ता र शक्तिमा पुग्न किन उल्टोबाट हिड्नु हुन्छ ? यसको गम्भीर समिक्षा गर्नुस् ।
बिपीले भने झैँ देशको एक मुठी माटो बोकेर सोच्नुस्, दीन दुःखी नेपालीको मुहार हेरेर संकल्प गर्नुस्, म देशलाई माया गर्छु । बिपी कोइरालाको आफु प्रधानमन्त्री बन्दा प्रत्येक नेपालीलाई आफ्नोजस्तो आर्थिक हैसियतमा १५ वर्ष भित्र पु¥याउने संकल्प र अठोट थियो, आज कुन प्रधानमन्त्रीले आफ्नो जस्तो आर्थिक हैसियत नेपाली जनताको बनाउँछु भनेर सोचेको छ, सम्झेको छ ? जनतासँग बाचा, बन्धन गर्नु र उड्नतस्तरी सपना देखाउनु भन्दा पहिले आफ्नो बोली र नैतिक हैसियत उकास्नुहोस्, बोली र ब्यवहार अनि आफ्नो सामर्थ्य र औकात अनुसारको सपना देखाउनुहोस् । सपना बुन्नु पर्छ, सपना देखाउनु पनि पर्छ तर के कुरा ख्याल राख्नुपर्छ भने आफ्नो सामर्थ्य र औकात अहिले कस्तो र कहाँ छ, त्यसको पनि हेक्का हुनुपर्छ । तिलस्मी, जादुयी र मायावी कुरा सपना र जोकरपनाले मात्र केहि हुँदैन । वास्तविकताको धरातलमा टेक्नु पर्छ । सकिने र सम्भव हुने कार्ययोजना बुन्नु पर्छ । अमेरिका, युरोप र विश्वका उपल्लो हैसियत भएका राष्ट्र बनाउने सपना होइन, नेपाल बनाउने सपना देख्नुस्, बाचा बन्धन पनि सक्ने जति र गर्ने जति गर्नुस् ताकि जनतामा विश्वास पैदा होस् । आफुले तत्काल गर्ने १ वर्ष भित्र गर्ने, ५ वर्ष भित्र गर्ने अनि दीर्घकालीन योजना प्राथमिकताको आधारमा तय गर्नुस । नेपाल बनाउन कठिन छैन । हामीसँग जे पनि छ, नभएको भनेको नेताहरुमा इमान्दारिता, जवाफदेहिता र देशप्रेम मात्र हो । पार्टीहरु इमान, जमान र नियम कानुनको परिपलानमा कतिबद्ध बनुन्, जनता लाम लागेर देश विकास र सम्वृद्धिको लागि आउनेछन्, श्रम, शिप र पसिना पोख्नेछन् । यो देश मेरो हो, मेरो माटोप्रति मेरो कर्तब्य र भूमिकाहरू धेरै छन् जसको लागि हामीले आफ्नो ठाउँबाट सकेको गर्ने वातावरण निर्माण गरौं, देश प्रगतिको मार्गमा पुग्न बेर मान्दैन । देशभक्ति मूल मन्त्र मानेर असली राष्ट्रवादको झन्डा बोकौं, छल छाम तिकडम बाजी त्याग्यौं भने भौगोलिक सुन्दरता अझ अलौकिक सुन्दर बन्ने छ । त्याग, संकल्प, सद्भावना र समर्पण बोकेर हिडौं, समय हाम्रो यहि पदचाप र आत्मसातको पर्खाइमा छ । देश भक्तिको फोस्रो राप र अलापले देश बन्दैन । सहि संकल्प, आपसी, विश्वास, भाइचारा, एकता र उचित राजनीतिक प्रणालीमा पाइला राखियो भने हाम्रो आगामि यात्रा सुखद हुनेछ, बन्नेछ ।
प्रतिक्रिया दिनुहोस्