Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


रुकुममा झडप, दुईजना गम्भीर घाइते


0
Shares

पश्चिम रुकुमको त्रिवेणी गाँउपालिका–१० को वडा कार्यालय राख्ने विषयमा झडप हुँदा दुईजना गम्भीर घाइते भएका हुन् ।

साविकको पेउघा गाविसको बरनेटीमा रहेको वडा कार्यालय भुम्केमा सार्नुपर्छ भन्ने पक्ष र बरनेटीमै रहनुपर्छ भन्ने पक्षबीच झडप भएको हो ।

दुई पक्षबीच झडप हुँदा भुम्केमा कार्यालय राख्नुपर्छ भन्ने पक्षका ५८ वर्षीय टेकबहादुर खड्का र उनका छोरा ३५ वर्षीय शेरबहादुर खड्का घाइते भएको प्रहरीले जनाएको छ । टेकबहादुर सोही वडाको निर्वाचित वडासदस्य हुन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइएको छ । उनीहरुको टाउकोमा गम्भीर चोट रहेको अस्पतालले जनाएको छ ।

कार्यालय भुम्केमा हुनुपर्छ भन्ने पक्षले बरनेटीमा रहेको वडा कार्यालय तोडफोड गर्नुका साथै कार्यालयका सबै सामान नस्ट गरेको वडाध्यक्ष शेरबहादुर केसीले बताए ।

दुवै पक्षले आ–आफ्नो अडान नछोडेका कारण विवाद भइ झडप भएको बताइएको छ । आफू खलंगा भएको बेला घटना घटेको केसीको भनाइ छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक थमन रम्जालीले बताए ।

वडा नम्बर–१० मा वडाध्यक्षसहित नेपाली कांग्रेसको पूरै प्यानल विजयी भएको थियो ।