काठमाडौंको नयाँ बसपार्कबाट बिहान साढे ९ बजे नुवाकोटको खरानीटारका लागि गुडेको बा१ख ६३४८ नम्बरको यात्रीबस नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ गुरुङगाउँमा अपराह्न १२ बजेतिर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुमा तादी गाउँपालिकाका ६७ वर्षीया ठूलीमाया तामाङ, विदुर नगरपालिकाका २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका, नर्जामन्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने, ५७ वर्षीय लालबहादुर तामाङ, २२ वर्षीया सविना तामाङ र उजेली मिजार रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटकाअनुसार दुर्घटनामा अरु २८ जना घाइते भएका छन् । उनीहरुको काठमाडौंका ग्रान्डी, ग्रीनसिटी, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये १० जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले जानकारी दिए ।
चालक फरार रहेका जनाइएको छ । बस सडकबाट करिब ३५० मिटर तल खसेर स्थानीयको घरमा बज्रिन पुगेको थियो ।

















प्रतिक्रिया दिनुहोस्