एक साताअघिदेखि काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले शनिबार सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो ।
वाग्मती सफाइ महाअभियानको २२६औं हप्तामा शनिबार सिनामंगल पुलमा सफाइ गरी पाँच मेट्रिकटन फोहर थुपारियो ।
सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत रिन्चे टिरिङलाई बिदाइसहित सम्मान गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले राससलाई जानकारी दिए । उनी यही हप्ता बंगलादेश जानेछिन् ।
सफाइकाक्रममा सिनामंगलदेखि जागृतिनगरसम्म जनचेतनामूलक अभियान पनि सन्चालन गरिएको छ ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिकालगायत संस्थाको सहभागिता थियो ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८७औं हप्तामा शनिबार गोठाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
सफाइमा पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत संस्थाका १०० जनाभन्दा बढीको सहभागिता थियो ।
रुद्रमती सफाइको १८५औं हप्तामा शनिबार रातोपुलदेखि गौशालासम्म जनचेतनामूलक अभियानसहित सफाइ गरियो । गौशालाबाट निस्किइ सडकमा बगिरहेको ढल सो अवसरमा व्यवस्थापन गरिएको थियो ।
सफाइमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौं महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको पनि उपस्थिति थियो ।
विष्णुमती सफाइको १५७औं हप्तामा धादिङ बसपार्क क्षेत्रमा जनचेतनासहित सफाइ गरियो । ३०० जनाको सहभागितामा भएको सफाइमा चार मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
चक्रपथ सफाइको २२औं हप्तामा बसुन्धरा–गोंगबु–नयाँ बसपार्क क्षेत्रका रुखमा पाँच फिटसम्म रङ लगाएर सफाइ गरियो । ३०० जनाको सक्रियतामा सफाइ गरी आठ मेट्रिकटन फोहर व्यवस्थापन भयो ।
यसैगरी, चक्रपथको सीतापाइला बाफल क्षेत्रमा पनि शनिबार तेस्रो हप्ताको सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ ।
आलोक नगरस्थित वाग्मती नदी किनारमा गरिएको २२औं हप्तामा मीनभवन क्षेत्रमा जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा ७५ जना महिलाको सक्रियता थियो ।
मनोहरा नदी सफाइको दोस्रो हप्ता शनिबार विशेष सफाइ कार्यक्रम गरियो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले नदी संरक्षण विधेयक पारित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सफाइमा सांसद दीपकप्रसाद कुइँकेल, सचिव दिनेशकुमार थपलिया, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत अभियन्ताको सहभागिता थियो ।
शालिनदीदेखि वाग्मती दोभानसम्म ५२ हप्तामा सफाइ गरिसक्ने प्रतिबद्धता पनि सो अवसरमा जनाइयो । आजको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरियो ।
यसैगरी, इन्द्रमती सफाइ अभियानको दोस्रो हप्ता शनिबार नदीको बल्खु क्षेत्रमा सफाइ गरी आठ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० अभियानकर्मीको सहभागिता थियो ।
गत हप्तादेखि राति सफाइ गरिँदै आएको पशुपति क्षेत्रमा आइतबारदेखि दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ ।
वि.सं. २०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रेरित भइ हालसम्म मुलुकका २६ सहरका नदी सफाइ पनि सुरु भएको छ । रासस










प्रतिक्रिया दिनुहोस्