Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


म्यानमारका रोहिंग्या विद्रोहीद्वारा एक महिनाको लागि एकतर्फी युद्धविराम घोषणा


0
Shares

सरकारी सेनाको कारबाहीबाट मानवीय संकट उत्पन्न भएको भन्दै यसबाट बाहिर निस्कन रोहिंग्या विद्रोहीको समूह अर्साले एक महिनाका लागि युद्धविरामको घोषणा गरेको हो ।

युद्धविराम आइतबार (आज)देखि लागू हुनेछ । अर्साले गत अगस्ट २५ मा प्रहरीमाथि आक्रमण गरेपछि म्यानमारको रखाइन प्रान्तमा सेनाले कारबाही चलाएको थियो । जसका कारण लाखौं रोहिन्ग्या घर छाडेर पलायन भएका छन् ।

पछिल्लो दुई हप्तामामात्रै रखाइन प्रान्तबाट झन्डै तीन लाख रोहिंग्या मुसलमान शरणका लागि बंगलादेश पुगेको दाबी गरिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघले द्वन्द्वका कारण म्यानमार छोडेका रोहिंग्या मुसलमानको मानवीय सहयोगका लागि तत्काल सात करोड ७० लाख अमेरिकी डलर खाँचो परेको जनाएको छ ।

बंगलादेशको कक्स बजारमा रहेका रोहिंग्या शरणार्थीका लागि खाद्यन्न, पानी तथा औषधि अत्यावश्यक रहेको र त्यसका लागि सहयोग गर्न राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ ।

बौद्ध सम्प्रदायको बाहुल्य रहेको म्यानमारमा सेनाले रखाइनमा रोहिंग्या मुसलमानको घर जलाएको आरोप पीडितले लगाएका छन् भने सरकारले उक्त आरोप झुटो भएको बरु विद्रोहीले नै अरुलाई देखाउन बस्तीमा आगो लगाएको दाबी गरेको छ । (एजेन्सी)