Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


तमोर नदीको धमिलो र प्रदूषित पानी पिउन बाध्य माझी समुदाय (भिडियो)


0
Shares

स्थानीय तहको निर्वाचन भएर जननिर्वाचित प्रतिनिधि आइसक्दा पनि माझी समुदायका समस्या समाधान गर्न चासो नदिएको उनीहरु बताउँछन् ।

यहाँ माझी समुदायका झन्डै १०० परिवारको बसोबास छ । बस्ती आसपासमा पानीको मुहान नहुँदा वर्षात्को समयमा पनि उनीहरु त्यही नदीको पानी पिउन बाध्य भएका हुन् ।

हालै भएको स्थानीय तह निर्वाचनका बेला उम्मेदवारहरुले माझी समुदायसँग भोट माग्ने बेलामा खानेपानीको सुविधा उपलब्ध गराइदिने आश्वासन दिएका थिए ।

तर, निर्वाचन भएर लामो समय बितिसक्दा पनि जनप्रतिनिधिहरुले स्वच्छ पानीको व्यवस्था गर्न पहल नगरेको स्थानीयको गुनासो छ ।

फोहोर मिसिएको धमिलो र प्रदूषित पानी पिउँदा यहाँका कयौं मानिस बिरामीसमेत पर्ने गरेका छन् । पानीकै कारण झाडापखला, हैजा, आउँलगायतका समस्या देखिएको उनीहरु बताउँछन् ।

हिलिहाङ गाउँपालिका वडा नम्बर–७ र फिदिम नगरपालिका वडा नम्बर–४ का स्थानीय धमिलो पानी पिउन बाध्य हुँदा पनि सम्बन्धित निकायको अहिलेसम्म चासो दिएको छैन ।

यसअघि, साविकको भारपा गाविसमा रहेको साँचेखोलाबाट पिउने पानी नल्याएको पनि होइन । तर, त्यहाँको पानी नियमितरुपमा नआउने तथा गर्मीयामको समयमा मुहान नै सुक्ने समस्या भएपछि त्यो पानी पनि माझी बस्तीका लागि दिगो हुन सकेको छैन ।

फिदिम नगरपालिका वडा नम्बर–४ का वडाअध्यक्ष प्रकाश गुरुङले माझी समुदायको बस्तीमा चाँडै स्वच्छ पानी वितरण गरिने बताए ।

भिडियो हेर्नुहोस्