जग्गा उपभोग गरेबापत जग्गा धनीलाई अन्नबाली वा नगद बुझाउनुलाई कुत भनिन्छ ।
‘जग्गाधनी काठमाडौं र अमेरिकामा बस्छन्, त्यसैले समयमा नै कुत लिएर काठमाडौं जानुपर्छ,’ भूम्लु– ८ की सीता थपलियाले भनिन् ।
भूम्लु– ८ का रञ्जन श्रीभक्तीले जग्गा धनीले अन्नबाली आधा लिने गरेको गुनासो गरे । उनले कुत नबुझाए कमाइरहेको जग्गा पनि नपाउने भएकाले जग्गाधनीले जहाँ भन्छन्, त्यही कुत पु¥याउने गरेको बताए ।
सोही स्थानका ७४ वर्षीय अम्मरबहादुर सिंहले भने, ‘बुबाले कति वर्ष कमाउनुभयो मलाई थाहा छैन तर मैले २०२७ सालदेखि कुत बुझाउँदै आएको छु ।’
भूम्लु– ८ का वडाध्यक्ष मोतिलाल तामाङले मौखिक कबोलका आधारमा जग्गाधनीलाई मकै, धानलगायतका बाली बुझाउने गरेको जानकारी दिँदै कुत बुझाउन नपुगे बाहिर श्रम गरेर पनि मोहीले नगद बुझाउने गरेको सुनाए ।
उनले भने, ‘यसरी कुत बुझाउँदा पनि पीडितले बुझाएको कुनै निस्सा वा प्रमाण पाउदैनन् ।’
फँलाटेका ध्रुवराज खरेलले जग्गा आफ्नो स्वामित्वमा नभएका कारण पुनःनिर्माण गर्नसक्ने अवस्था नभएकाले जग्गाको नयाँ नापी र अद्यावधिक गर्न आवश्यक रहेको बताए ।
सो स्थानमा २०३२ सालमा जग्गाको नापी भएको थियो । फँलाटे र भूम्लुटारको सीमा विवादले उक्त क्षेत्रमा स्थानीयवासीले जग्गाको लालपुर्जा पाउन नसकेका हुन् । प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिंखडाले लालपुर्जा नभए पनि लाभग्रहीसँग सम्झौता गरेर उनीहरुको निस्साका आधारमा पुनःनिर्माण गरिने बताए ।
उनले भने, ‘भूम्लुटार र फँलाटेमा तेस्रो किस्ता पनि वितरण भइरहेको छ ।’ (रासस)










प्रतिक्रिया दिनुहोस्