Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


जेठपछि भित्रिएका तीनपाङ्ग्रे सवारीलाई भरतपुरको चक्रपथमा निषेध


0
Shares

वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति लिई गएको जेठदेखि चितवनमा सञ्चालनमा आएको तीनपाङ्ग्रे सवारीलाई आगामी असोज १ गतेदेखि लागू हुने गरी रिङरोडमा निषेध गर्ने निर्णय भएको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।

उक्त निर्णय अटेर गर्नेलाई सामान जफत गरी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । असोज १ गतेसम्म सूचनामार्फत सबैलाई जानकारी गराउने नगरपालिकाको योजना छ । ‘जेठअघि नै आएका तीनपाङ्ग्रे भने जोर बिजोर प्रणालीमा चल्छन्, पछि भित्रिएका अरू चक्रपथमा चल्दैनन्,’ ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्तले भने ।

पन्तका अनुसार पटकपटक पत्राचार गरेर तीनपाङ्ग्रेलाई नपठाउन आग्रह गर्दा पनि जेठपछि धमाधम ती सवारी आएकाले यस्तो निर्णय गरिएको हो । चितवनको भरतपुर बसपार्क, बाइपास रोड, आँपटारी, नारायणगढ, चौविसकोठी, हाकिमचोक हुँदै यहाँ चक्रपथका रुपमा सवारी सञ्चालन हुन्छन् ।

महानगरपालिकाले बजार क्षेत्रको निश्चित स्थानमा पार्किङको व्यवस्था गर्ने, चक्रपथभित्र जोर बिजोर प्रणालीमा तीनपाङ्ग्रे सवारी सञ्चालन गर्ने, अर्को व्यवस्था नभएसम्म ठेला व्यवसायलाई कालोपत्र सडक क्षेत्रमा राख्न नदिने, व्यापारीलाई आफ्नो पसलभन्दा बाहिर सामान राखेर व्यवसाय गर्न नदिने निर्णयसमेत भएको जनाएको छ ।

यस्तै चितवनको पुलचोक क्षेत्रका लागि नारायणी किनारमा सवारी पार्किङ गर्नुपर्ने, लायन्स चोक आसपासका लागि गणेश चलचित्र हल पछाडिको खाली चौरमा र भरतपुर चौविसकोठीका सवारीलाई भने चितवन माविको खाली जग्गा र जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा पार्किङको व्यवस्थापन गर्ने निर्णय भएको समेत महानगरपालिकाले जनाएको छ । चितवनको भरतपुर–नारायणगढ क्षेत्रमा ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा बजार अस्तव्यस्त बनेको छ । (रासस)