Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


समानुपातिक निर्वाचनमा भाग लिन आइतबार १७ दलको निवेदन दर्ता


0
Shares

उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आजदेखि आगामी मंगलबारसम्म निवेदन पेश गर्न निर्वाचन आयोगले सूचना जारी गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकैसाथ गर्ने सरकारले निर्णय गरिसकेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायत राजनीतिक दलले आजै निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनकालागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पनि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्नेछ ।

प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खास–खास प्रदेशमा मात्र भाग लिने हो सो समेत स्पष्टरुपमा खुलाएर सम्बन्धित राजनीतिक दलको प्रमुख पदाधिकारीको हस्ताक्षर गरी बुझाउन आयोगले भनेको छ ।

आज निवेदन पेश गर्ने अधिकांश दलले प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचनमा सवै निर्वाचन क्षेत्रमा भाग लिने जनाउँदै निवेदन पेश गरेका छन् । (रासस)