
मातृशिशु सुरक्षाका लागि सरकारले ‘बिहेबारी २० वर्षपारि’ भनेर कानुन निर्माण गरेको छ । तर, किशोरावस्थामा रहेकी सरिता भने परिपक्व आमा बनिसकेकी छिन् ।
भूमिहीन सरिता ज्याला–मजदुरी गरेर ६ र चार वर्षका छोराहरू विशाल र विकासको भरणपोषण गरिरहेकी छिन् । सरिताका श्रीमान् गंगा कृषि मजदुरी गर्छन् ।
हालैको बाढीले उनीहरू बस्दै आएको छाप्रो बगाइदिएको छ । दैनिक मजदुरी गरेर जीविका चलाउने सरितासँगै अन्य पाँच घरपरिवार हाल बेलबारी–१ को अमनासिसौली सामुदायिक वन क्षेत्रमा शरण लिइरहेका छन् ।
स्वास्थ्य सेवाका कार्यक्रमबारे सरिता अनभिज्ञ
आमा र शिशुलाई निरोगी र स्वस्थ बनाउन सरकारले किशोरी शिक्षा, परिवार नियोजन, मातृशिशु सुरक्षा, बालविवाह नियन्त्रणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । तर, १२ वर्षे कलिलो उमेरमै आमा बनेकी सरिता ऋषिदेवहरूसम्म अझै यस्ता कार्यक्रम पुग्न सकेका छैनन् ।
दुवै सन्तान घरमै जन्माएकी र आफ्नै कमाइअनुसारको पोषण खाए–खुवाएकी उनलाई स्वास्थ्य सेवाका कार्यक्रमबारे जानकारी नै छैन ।
सानै उमेरमा बिहे गर्ने बाध्यताले बग्रेल्ती छोराछोरी
भूमिहीन र गरिबीले ऋषिदेव समुदायका बालबालिका शिक्षाको प्रभावबाट अझै धेरै टाढा छन् । स्कुल भर्ना भए पनि धेरै प्राथमिक शिक्षा पूरा नगरी बीचैमा विद्यालय छाड्न बाध्य हुन्छन् ।
गरिबी, अशिक्षा, रुढीवादी संस्कारले ग्रस्त ऋषिदेव समुदायका बालिका पढ्ने–खेल्ने उमेरमै बिहे गरेर आमा बन्न बाध्य हुन्छन् । सानै उमेरमा बिहे गर्ने बाध्यताले वास्तविक बिहे गर्ने उमेर पुग्न लाग्दा बग्रेल्ती सन्तानका आमा बनिसक्छन् । बिहे गर्ने उमेर नपुग्दै दुई सन्तानकी आमा बनिसकेकी सरिताले आफूलाई बाबुआमाले ११ वर्षमै बिहे गरिदिएको बताइन् ।
उनका अनुसार ऋषिदेव समुदायमा किशोरी उमेरमै बिहे गर्ने चलन छ । सुरक्षित बासको अभाव, आर्थिक विपन्नतालगायत विभिन्न कारणले ऋषिदेव समुदायका अभिभावक छोरीलाई माइतीमा धेरै समय राख्न चाहँदैनन् । –नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्