
प्रकाश नेपाल (इमेज)
इलाम, माघ १ । सात दिनदेखि अनशनरत् डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आइसीयुमा राख्नुपर्ने भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
तर, इलाम अस्पतालमा आइसीयु नहुँदा समस्या भएको छ ।
इलाम अस्पताल ५० शय्या क्षमताको अस्पताल हो । एकजनामात्र विशेषज्ञ चिकित्सक रहेको अस्पतालमा विशेष सेवा–सुविधाको अभाव नै छ ।
अस्पतालमा एउटा आइसीयुसम्म नहुँदा यहाँ उपचारका लागि आउने गम्भीर प्रकृतिका बिरामीलाई धरान तथा विराटनगर ‘रिफर’ गर्नुपर्ने बाध्यता छ ।
अहिले आमरण अनशनमा बसेका डा. गोविन्द केसीलाई यही अस्पतालमा राखिएको छ ।
उनकोे समर्थन गर्दै आउनेहरुका कारण अस्पताल परिसर दिनभर भरिभराउजस्तै रहने गरेको छ ।
दिन-प्रतिदिन उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताइरहेका छन् ।
तर, अस्पतालको अवस्थाका कारण स्वास्थ्यमा चुनौती थपिन थालेको छ । शरीरमा निमोनिया देखिएको केसीले एन्टिबायोटिक औषधि लिन नमानेपछि पूरै शरीरमा संक्रमण फैलनसक्ने खतरा रहेको केसीको उपचारमा संलग्न डा. विजेन्द्रकुमार साह बताउँछन् ।
अर्कोतर्फ डा. केसीको मुटुको गति अनियमित रहेको छ भने शरीरमा अक्सिजनकोसमेत कमी रहेको डा. साह बताउँछन् ।
उता, डा. केसीको जीवनरक्षाको माग गर्दै इलामबजारमा दिनहुँ प्रदर्शन भइरहेका छन् । यो संख्या दिन–प्रतिदिन बढ्दोक्रममा देखिन्छ ।
तर, सरकारले केसीका माग सुनुवाई गर्नेतर्फ कुनै चासो देखाएको छैन ।
प्रतिक्रिया दिनुहोस्