सचिव विद्यानाथ झा
काठमाडौं, माघ १ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण सचिव विद्यानाथ झालाई कुटपिट गरेको विषयलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रक्रिया आइरहेका छन् । प्रदेश सरकारले घटनाका बारेमा छानबिन सुरु गरेको छ ।
राजनीतिक आवरणमा हुने यस्ता घटनालाई दण्डहिनताको दायरामा ल्याउने गरेका कारण पनि पटक–पटक कर्मचारीहरु उस्तै प्रकृतिका घटनाबाट पीडित हुनु परेको सरोकारवाला बताउँछन् ।
गत भदौबाट लागु भएको मुलुकी अपराध संहिताले भने कुटपिटलाई कसुरको दायरामा राखेको छ ।
मुलुकी अपराध संहिताको परिच्छेद १४ मा कुटपिट वा अंगभंग सम्बन्धी कसुरका बारेमा सजायको व्यवस्था गरिएको छ ।
अपराध संहिताको दफा १९१ को उपदफा १ मा भनिएको छ– कसैले कसैलाई कुटपिट गर्न हुँदैन ।

उपदफा २ मा कुटपिटको परिभाषा व्यवस्थित गरिएको छ । कुनै किसिमको शारीरिक पीडा पुर्याएमा, कुनै काम गरी रोग सारेमा वा अन्य कुनै कार्य गरी अशक्त बनाएमा यो दफा आकर्षित हुनेछ ।
यस्तो कसुर गर्ने वा गराउनेलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था मुलुकी अपराध संहिताले गरेको छ ।
त्यस्तै दफा १९४ मा गम्भीर उत्तेजना वा रीसको आवेशबाट कुटपिट वा अंगभंग भएकोमा सजायको व्यवस्था गरिएको छ ।
दफा १९४ (१) मा भनिएको छ, ‘देहायको अवस्थामा कुटपिट गर्ने व्यक्तिलाई कुटपिट गरी अंगभंग गरेको रहेछ भने दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय र अन्य कुनै किसिमको चोट पुर्याएको रहेछ भने एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
कसैले तत्काल गम्भीर उत्तेजना दिलाउने वा कुनै काम गरेबापत कसूरदारले आत्मसंयमको शक्ति गुमाई त्यस्तो उत्तेजना दिलाउने व्यक्तिलाई वा भ्रमवस अरु कसैलाई कुटपिट गरेमा वा संयोगवस अरु कसैलाई चोट पुग्न गएमा यो दफा आकर्षित हुने व्यवस्था छ ।






प्रतिक्रिया दिनुहोस्