१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


डा. केसीविरुद्ध इलाममा जुलुस


0
Shares

इलाम, पुस ३० । यहाँ ६ दिनदेखि अनशनरत. प्रा. डा. गोविन्द केसीकाविरुद्धमा आवाज उठाउँदै युवा विद्यार्थीले सोमबार जुलुस निकालेका छन् ।

‘सरकारी तलब, भत्ता खाएर राजनीति गर्नेलाई कारबाही गर’, ‘विधिको शासनको विरोध गर्ने होसियार’जस्ता नारा लगाउँदै युवा विद्यार्थीले इलाम सदरमुकाममा जुलुस निकालेका थिए ।

विद्यार्थीले अनशनरत् डा. केसीको मागको विरोध गरेका थिए ।

उनीहरुले अर्का अनशनरत् विद्यार्थी तथा सामाजिक अभियान्ता विजय थापालाई समर्थन गरेका थिए ।

विद्यार्थीले जनताका प्रतिनिधिले बनाएको विधेयकलाई एक व्यक्तिले तहस–नहस पार्न खोजेको आरोप लगाएका थिए ।

इलाम चोकबजारस्थित थापाको अनशनस्थलबाट सुरु भएको जुलुस विभिन्न ठाउँको परिक्रमा गर्दै फेरि बजारमै आएर सभामा परिणत भएको थियो ।

सभामा सम्बोधन गर्दै युवा विद्यार्थी भीष्म पौडेलले विदेशमा चिकित्सा शिक्षा पढ्न गएका विद्यार्थीलाई स्वदेशमै अध्ययन गर्ने वातावरण बनाउन माग गर्ने थापाको माग पूरा हुनुपर्ने माग गरेका थिए ।

उनले डा. केसीले सयमा सय माग पूरा हुनुपर्छ भन्नु ‘बालहठ’ भएको भन्दै तत्काल अनशन तोड्न अनुरोध गरेका थिए ।

यस्तै, सभामा सम्बोधन गर्दै अर्का विद्यार्थी ईश्वरी तामाङले सबै जनताका छोराछोरीले मेडिकल शिक्षा पढ्न पाउने अधिकार कुन्ठित गर्न नहुने बताएकी थिइन् ।

उनले जनप्रतिनिधिले गरेको निर्णय नमान्ने अधिकार कसैको नभएको उल्लेख गरिन् । रासस