Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय : राष्ट्रपति


0
Shares

पत्रकार मञ्जु कार्कीले निर्माण गरेको नेपाली महिलाहरुको संघर्ष र सफलतासम्बन्धी वृत्तचित्रको शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गर्दै उनले राज्यको नेतृत्व तहमा नेपाली महिलाको उपस्थिति विश्वकै लागि अनुकरणीय रहेको बताइन् ।

२०७२ साल नेपाली महिलाका लागि सुखद् रहेको भन्दै उनले एक वर्षभित्र राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको नेतृत्व तहमा तीनजना महिलाले नेतृत्व गर्न पाएको उल्लेख गरिन् ।

उनले कानुनमा सुधार गर्दै महिला अधिकारका लागि आर्थिक सशक्तीकरण, शिक्षा र चेतना विस्तारमा जोड दिनुपर्ने बताइन् ।

वृत्तचित्र हेरेपछि सभामुख ओनसरी घर्तीले संविधान कार्यान्वयनसँगै नेपाली महिलाले मुक्ति पाउने विश्वास व्यक्त गरिन् ।

अधिकार र नेतृत्वको पक्षमा नेपाली महिलाको अवस्था सन्तोषजनक रहेको भन्दै उनले गरिबी, अशिक्षा र बेरोजगार शत्रु भएकाले त्यतातिर सबैको ध्यान केन्द्रित हुनुपर्ने बताइन् ।

निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले नेपाली महिलाहरु उच्च तहमा पुग्नु सकारात्मक भएपनि परिवर्तनको अनुभूति ग्रामीण क्षेत्रका महिलासम्म पुर्‍याउन सक्नुपर्नेमा जोड दिइन् ।

उनले नेपालमा महिला अधिकारको क्षेत्रमा उल्लेख्य उपलब्धि भएकाले यसलाई सदुपयोग गर्दै समाज परिवर्तनका लागि सबै जुट्न सुझाव दिइन् ।

वृत्तचित्रले नेपाली महिलाको विगत र वर्तमानलाई प्रस्ट्याएको भन्दै सबै क्षेत्रका महिलालाई समेट्न सुझाव दिइन् ।

वृत्तचित्रमा पुरुषप्रधान नेपाली समाज, महिलामाथि पुरुषले गरेको थिचोमिचो, सतिप्रथा, महिला अधिकार र भोग्नुपरेका समस्यालाई उजागर गरिएको छ ।

त्यसैगरी, २०४६ सालपछि भएका परिवर्तनलाई पनि वृत्तचित्रमा समेटिएको छ ।