
इलाम, पुस ३० । ६ दिनदेखि इलाममा सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले बताएका छन् ।
निमोनियाको संक्रमण भएपछि आइतबार रातिदेखि इलाम जिल्ला अस्पतालमा लगिएका डा. केसीको दायाँ फोक्सोमा निमोनियाको संक्रमण भएको र मुटुको चाल घटेर ३४ मा झर्ने र बढेर २४० सम्म पुग्ने गरेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
सोमबार दिउँसो डा. केसीको स्वास्थ्य परीक्षण गर्दा तत्काल आइसीयुमा राख्नुपर्ने अवस्था देखिएको इलाम अस्पतालका डा. विजेन्द्रकुमार शाहले बताएका छन् ।
इलाम अस्पतालमा आइसीयु सुविधा नरहेकाले कुनैपनि बेला जटिल समस्या निम्तिनसक्ने पनि डा. शाहले बताए ।
डा. केसीलाई रिंगटा लाग्ने, पेट पोल्नेलगायतका समस्या पनि बढेको चिकित्सकहरुले बताएका छन् ।
चिकित्सकहरुले एन्टिबायोटिक औषधि चलाउन खोज्दा डा. केसीले नमानेपछि स्लाइनमात्र दिइएको छ ।
समर्थनमा र्याली
यसैबीच, डा. केसीको मागलाई समर्थन गर्दै सोमबार पनि इलामबजारमा र्याली निकालिएको छ ।
डा. केसीका सहयोगी डा. अभिषेकराज सिंह, डा. सुरेन्द्र भण्डारी र प्रदेश नम्बर–३ का सांसद रमेश पौडेलले र्यालीको नेतृत्व गरेका थिए ।
डा. केसीका मागहरु जायज भएको र पटक–पटक सम्झौता भएकाले कार्यान्वयन गर्न सहभागीहरुले सरकारलाई आग्रह गरेका थिए ।
चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उनी १६औं चरणको सत्याग्रहमा छन् ।
डा. केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न सरकारसित माग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्