Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


मोरङमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु


0
Shares

विराटनगर–१ महेशपुर बस्ने १६ वर्षीय गौरव खवासको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

स्थानीय सिँगियाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खवासलाई दिउँसो २ः०० बजेतिर करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका खवासलाई उपचारका लागि कोशी अन्चल अस्पताल विराटनगर ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै, मोरङकै विराटनगर–२ सोमबारेमा शनिबार दिउँसो नुहाउने क्रममा लडेर एक बालिकाको मृत्यु भएको छ । रंगेली नगरपालिका–८ घर भई विराटनगर–२ सोमबारेस्थित आशा राउतको घरमा डेरा गरी बस्ने मनिता मण्डलकी सात वर्षीया छोरी हेमा मण्डल दिउँसो १ः०० बजेतिर नुहाउने क्रममा ट्युबवेलमा चिप्लिएर बेहोस भएकी थिइन् । उनलाई उपचारका लागि कोशी अन्चल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, मोरङको ग्रामथान गाउँपालिका–२ स्थित भित्रि सडकखण्डमा गत भदौ २८ गते मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक वृद्धाको शनिबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–२ बस्ने ६० वर्षीया गेरी माझी रहेकी छन् । को१७प १२५९ नम्बरको मोटरसाइकलले पैदल हिँड्दै गर्दा ठक्कर दिइ गम्भीर घाइते भएकी थिइन् । नोवेल अस्पताल विराटनगरमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक विश्वहरि कोइरालाले जानकारी दिए । रासस