ट्राफिक प्रहरी कार्यालयले ललितपुरलाई ट्राफिक जाम मुक्त शहर बनाउने अभियानको आज घोषणा गरेको हो ।
‘ट्राफिक जाम मुक्त शहर’ भन्ने नाराका साथ ट्राफिक प्रहरीले यो अभियान शुरु गरेको हो ।
अभियानको उद्घाटन गर्दै महानगरीय ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले जामबाट शहरलाई मुक्त बनाउन जस्तोसुकै कदम चाल्न पनि आफू तयार रहेको भन्दै यो अभियानमा साथ दिन सबैलाई आग्रह गरे ।
कार्यक्रममा ललितपुर महानगरपलिकाका प्रमुख चिरिवावु महर्जनले ललितपुर महानगरपालिकालाई नेपालकै नमूना शहरका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ललितपुर महानगरलाई जाम मुक्त बनाउन केही संघसंस्थाले ट्राफिक प्रहरीलाई ड्रोनसमेत दिएका छन् । ड्रोनको सहयोगमा ट्राफिक व्यवस्थापन गरिने प्रहरीले जनाएको छ ।
यसैगरी ललितपुर महानगरपालिकाले ट्राफिक ब्यवस्था सहज बनाउन ३ वटा स्थानमा ट्राफिक लाइट जडान गरिदिने भएको छ ।
ललितपुर महानगरलाई जाम मुक्त सहर बनाउने अभियानका क्रममा महानगरले कुपन्डोलको कानदेवता, पुल्चोकको हरिहरभवन र अल्का अस्पतालको अगाडि ट्राफिक लाइट जडान गर्न लागेको हो ।
३ हप्ताभित्र यी ३ स्थानमा महानगरले ट्राफिक लाइट राखिसक्ने ललितपुर महानगरपालिकाले जनाएको छ ।
त्यस्तै ललितपुर महानगरले तत्कालै लगनखेलको पाटन अस्पताल अगाडि र लगनखेलकै चोकमा अर्को आकाशेपुल बनाउन लागेको जानकारी गराएको छ ।










प्रतिक्रिया दिनुहोस्