Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सीमानाकामा उच्च सतर्कता, ठूलो संख्यामा सुरक्षाकर्मी खटाइयो (भिडियो)


0
Shares

नाकाबाट हुने सवारी–आवतजावतमा पूर्ण रोक लगाइएपनि अत्यावश्यकीय सवारी–साधन भने सन्चालन गर्न दिइएको जनाइएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत् सोमबार हुने २ नम्बर प्रदेशको चुनावमा सुरक्षाको चूक हुन नदिन नेपाल–भारत सीमा क्षेत्र बन्द गरिएको हो ।

नेपाल–भारत दुवै देशका अधिकारीबीच छलफल भएरै शुक्रबार मध्यरातदेखि मतदान नसकिँदासम्मको ७२ घन्टाका लागि सीमानाका बन्द गरिएको हो ।

२ नम्बर प्रदेशका आठै जिल्ला भारतसँग जोडिएकाले सुरक्षा संवेदनशीलता ख्याल गर्दै सीमा बन्द गरिएको छ ।

पर्सामा दुई, चार र ६ पांग्रेसहितका सवारी–साधन आवत–जावतमा रोक लगाइएको छ । एम्बुलेन्स, इन्धन ढुवानीका सवारी–साधन भने सुरक्षा निकायको अनुमतिमा सन्चालन गर्न दिइएको जिल्ला समन्वय समितिहरुले जनाएका छन् ।

विगतका चुनावमा भारतीय अपराधीबाट चुनावमा असर पार्ने गतिविधि हुने गरेकाले यसपटक त्यस्तो नहोस् भन्नकै लागि सीमानाकामा उच्च सतर्कता अपनाइएको हो ।

खुला सीमा भएकाले भारतसँगको मुख्य नाकाहरुका ठूलो मात्रामा सुरक्षाकर्मी खटाइएको छ । मुख्य नाकासहित सबै नाकालाई ‘सिल’ गरिएको छ ।

वीरगन्ज–रक्सौल सीमानाकामा पैदलयात्रीलाई पनि कडाइ गरिएको छ । भारतबाट नेपाल आउने र जाने नेपाली र भारतीयलाई नागरिकता देखाइ आवत–जावतको कारण प्रस्ट गरेपछिमात्र नाका प्रवेशको अनुमति दिइने व्यवस्था मिलाइएको छ ।

वीरगन्जमा चुनावी सुरक्षाका लागि तीन हजार ८०० नेपाल प्रहरी, एक हजार ५०० सशस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ । जसमा अनुसन्धान विभागका कर्मचारीले पनि उत्तिकै निगरानी गरिरहेका हुन्छन् ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तोकिएका तीन तहमा रहेर मतदान केन्द्र, मतदाता र मतपत्र राखिएको बाकसको सुरक्षा प्रदान गर्नेछन् ।

भिडियो हेर्नुहोस्