नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो ।
संविधान दिवसकै अवसरमा आज सरकारले काठमाडौंको टुंडिखेलमा विशेष समारोह आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै तहका निर्वाचन सम्पन्न भएपछि मुलुकले गति लिने बताए ।
उनले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दल र देशबासीलाई आह्वान गरे ।
सबैको एकताबाट मात्र समृद्ध नेपाल सम्भव हुने भन्दै उनले राष्ट्र निर्माणका लागि एकजुट हुन पनि आह्वान गरे ।
प्रधानमन्त्री देउवाले जनप्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने जनताको चाहना पुरा भएकाले त्यसको सफल कार्यान्वयनसँगै लोकतन्त्र र गणत्रन्त्र संस्थागत हुने बताए ।
प्रधानमन्त्री देउवाले निर्धारित समयभित्रै सबै निर्वाचन सम्पन्न गर्ने दायित्व सरकारको भएको र आफू सोहीअनुसार अघि बढिरहेको स्पष्ट पारे ।
संविधान मार्फत नेपाली जनताको शान्तिको चाहना पुरा भएको भन्दै उनले संविधानमा सबैको अपनत्व महसुस गर्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका प्रमुखहरु लगाउतको उपस्थिति थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाले शान्तिका प्रतिक परेवा उडाएर शान्तिको कामना गरेका थिए ।
त्यस क्रममा नेपाली सेनाले संविधान दिवस अंकीत झन्डा बोकेको हेलिकोप्टरबाट पुष्पबृष्टि गराएको थियो ।
त्यसैगरी काठमाडौ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर नगरपालिका, मध्यपुर थिमि, कीर्तिपुर नगरपालिकाले स्थानीय संस्कृतिसहितका झाँकी प्रदर्शन गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद्ले बिभिन्न खेल प्रदर्शन गरेको थियो भने नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले कवाज प्रदर्शन गरेका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस










प्रतिक्रिया दिनुहोस्