सांसद प्रदीप यादव
काठमाडौं, पुस २९ । सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले वाइडबडी विमान खरिदबारे लेखा समितिले अनुमोदन गरेको प्रतिवेदन लुकाउन खोजेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आज बसेको बैठकको विशेष समयमा भाग लिँदै सांसद यादवले विमान खरिद प्रक्रियामा केही मन्त्रीलाई जोगाउन समितिका सभापति नै प्रतिवेदन लुकाउन लागि परेको आरोप लगाए ।
सांसद यादव वाइडबडी खरिद प्रकरणबारे लेखा समितिले गठन गरेको सांसद राजन केसी संयोजकत्वको उपसमितिका सदस्यसमेत हुन् ।
बैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद यज्ञराज सुनुवारले वाइड बडी विमान घोटालामा तत्कालिन प्रधानमन्त्री शेरवहादुर देउवाको नाम पनि जोडिन आएकाले सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरे ।
बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले बुद्धिजिवीलाई धम्क्याउने, संवैधानिक निकाय कमजोर बनाउने र संसदलाई छल्ने काम गरेर पद्धति बलियो नहुने भन्दै देशका संस्थाहरुको मर्यादा जोगाउन प्रधानमन्त्रीलाई आग्रह गरे ।
बैठकमा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सरकार र अनशनरत डा. गोविन्द केसीबीच भएका सम्झौता कार्यान्वयन गरेर केसीको जीवन रक्षा गर्न माग गरे ।









प्रतिक्रिया दिनुहोस्