Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रधानमन्त्री देउवा न्यूयोर्कमा महत्वपूर्ण भेटवार्तामा व्यस्त


0
Shares

सो क्रममा प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग शिष्टाचार भेटवार्ता गरे ।

राष्ट्रपति मैत्रीपालाले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको श्रीलंका भ्रमणको स्मरण गर्दै आफू नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

साथै, उनीहरुबीच सार्क क्षेत्रका समस्या र सम्भावनाका बारेमा पनि कुराकानी भएको थियो ।

सौहाद्रपूर्ण वातावरणमा भएको कुराकानीमा श्रीलंकाली राष्ट्रपति मैत्रीपालाले नेपालको आनन्दकुटी विहार र मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाको बिहीबार नै अफगानिस्तानका राष्ट्रपति असर्रफ घानी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र पाकिस्तानका प्रधानमन्त्री सहिद खान अब्बासीसंग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

ती भेटमा आपसी हित र द्विपक्षीय सम्बन्ध विस्तार गर्नेसम्बन्धी कुराकानी भएको जानकारी गराउँदै डा भट्टराईले भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री देउवालाई पाकिस्तान भ्रमणको निम्तो दिनुभयो ।’

सबै भेटमा यस क्षेत्रका समस्याका साथै क्षेत्रीय सम्बन्ध विस्तारका बारेमा समेत कुराकानी भएको थियो ।

भेटमा जनता जनताबीचको सम्बन्ध, व्यापार, ऊर्जालगायतका विषयमा छलफल भएको डा भट्टराईले जानकारी दिए ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास बैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी थिए ।

संयुक्त राष्ट्र संघको ७२औँ महासभालाई प्रधानमन्त्री देउवाले शनिबार सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र संघको ७२औँ महासभामा भाग लिने क्रममा २० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार बिहान न्यूयोर्क पुगेका हुन् । (रासस)