Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


नवरात्रको दोस्रो दिन शक्तिपीठहरुमा भक्तजनको घुइँचो


0
Shares

काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि घटस्थापनाको शुभसाइतमा जमरा राखियो । आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । यस दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी–देवताको आह्वान गरिन्छ । यस दिन झिसमिसे बिहानीमै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकैलगायतका अनाज छर्ने गरिन्छ ।

माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको हो । यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ । अनि अनन्त शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआजा गरिन्छ । यसै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिन बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थनाका साथै दुर्गा सप्तशती चण्डी पाठ गरिन्छ ।

घटस्थापनाका दिन राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाउने गरिन्छ । उपत्यकालगायत देशैभरको देवी मन्दिरहरुमा विहिबार विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ ।