प्रज्ञा तिमल्सिना (इमेज)
काठमाडौं, पुस २८ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालले क्यान्सरलाई जितेर सहज, स्वस्थ जीवन बिताइरहेकाहरुलाई र्याम्पमा हिँडाएको छ ।
‘सुदिप्ता क्यान्सर सरभाइवर र्याम्प सो’ नाम दिइएको कार्यक्रममा २४ जना र्याम्पमा उत्रिएका थिए ।
वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र्याम्पमा उत्रिएपछि सुरु भएको कार्यक्रममा क्यान्सर रोगलाई जित्न सफल भएकाहरु हँसिलो मुहार लिएर र्याम्पमा हिँडेका थिए ।
समयमै उपचार गर्ने हो भने क्यान्सर रोगको उपचार सम्भव भएको सन्देश प्रवाह गर्ने उद्देश्यबाट नेपालमा पहिलोपटक यस्तो कार्यक्रम आयोजना गरिएको हो ।
र्याम्पमा १३ वर्ष उमेरकी बालिकादेखि ७० वर्षसम्मका महिलाहरुको उत्साहजनक सहभागितामा थियो ।
कार्यक्रमका लागि इटहरीदेखि आएकी सीता ढकालले यस्तो अवसर प्राप्त होला भन्ने कल्पना पनि नगरेको भन्दै क्यान्सर रोगसँग जुधेकाहरु पनि खुलेर बाहिर आउन र ऊर्जा दिन कार्यक्रमले उत्प्रेरणा दिएको बताइन् ।
१० वर्षको उमेरमा नै क्यान्सरबाट पीडित बनेकी लिजिमा सिङ्जालीले आत्मविश्वास बलियो भयो भने क्यान्सरजस्तो रोगलाई जितेर स्वस्थ जीवन जीउन सकिन्छ भन्दै खुसी व्यक्त गरिन् ।
र्याम्प सोको कोरियोग्राफी गरेकी नेपालकी पहिलो महिला मोडेल डली गुरुङले क्यान्सर रोगपीडितलाई कार्यक्रमबाट ऊर्जा मिल्ने विश्वास व्यक्त गरिन् ।
आफूले पनि क्यान्सरलाई जितेको भन्दै उनले क्यान्सरकै कारण आमा र मामालाईसमेत गुमाएको पीडा सुनाउँदै आफ्नो परिवारमा धेरैजना क्यान्सरबाट पीडित रहेको बताइन् ।
हास्यकलाकार श्रेष्ठ र आचार्यले समय–समयमा स्वास्थ्य परीक्षण गराउन आग्रह गरे ।
क्यान्सरलाई जितेर स्वस्थ जीवनयापन गर्दै समाजमा उदाहरण बन्न सफल भएकाहरुलाई पहिलोपटक र्याम्पमा हिँडाएर सकारात्मक सन्देश दिन खोजिएको कार्यक्रम वर्षेनि आयोजना गरिने अस्पतालले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्