Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिक अनावरण


0
Shares

चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा निर्मित नेपाल एकीकरणका प्रणेता पृथ्वीनाराण शाहको पूर्णकदको सालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले चन्द्रागिरि क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी अनुकरणीय काम भएको चर्चा गरिन् ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा निर्मित सो सालिक ५ फिट ८ इञ्च उचाइको छ । मूर्तिकार नवीन सुवेदीले सो सालिक निर्माण गरेका हुन् ।

राष्ट्रपति भण्डारीले प्राकृतिक सौन्दर्यले सुशोभित चन्द्रगिरिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय जनताको स्तर उकास्ने तथा पर्यटनको विकासमार्फत मुलुकको समृद्धि हासिल गर्ने काममा चन्द्रागिरि हिल्स लिमिटेडले अहम् भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा समेत गर्दै जाने अपेक्षा गरेको बताइन् ।

तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स–साना सामन्ती राज्य रजौटालाई एकताको सूत्रमा बाँधेर सबल र एकीकृत राज्य निर्माण गर्नु तत्कालीन आवश्यकता भएको र त्यस ऐतिहासिक कार्यलाई पृथ्वीनाराण शाहले सम्पन्न गरेको राष्ट्रपति भण्डारीको भनाइ छ ।

समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले सन् २०१८ को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलाई प्रदान गर्ने घोषणा गर्दै चन्द्रागिरि हिल्सले केवलकारको निर्माणसँगै सांस्कृतिक र धार्मिक पर्यटनको समेत विकास गर्नु आफैँमा सकारात्मक काम भएको बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत नेकपा माओवादी नेता नाराणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअर्थमन्त्री डा रामशरण महत, राजपाका नेता शरतसिंह भण्डारी, सभासद्हरु सुवाससिंह ठकुरी, विनोद श्रेष्ठ, प्रेमबहादुर सिंहलगायतले मुलुकको आर्थिक विकासमा जोड दिए ।

हाल चन्द्रागिरि पर्वतमा केवलकार निर्माण भई सञ्चालनमा रहेको छ । पृथ्वीनारायण शाहले त्यस समयमा उपत्यका जित्ने शक्ति प्राप्त होस् भनी कामना गरेको स्थानमा भालेश्वर महादेव मन्दिर निर्माणसमेत भएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सोही परिसरमा सुविधा सम्पन्न र अन्तर्राष्ट्रियस्तरको होटल निर्माण गर्न लागिएको बताए ।

अध्यक्ष ढकालका अनुसार प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, जिप फ्लाएर लगायतका अन्य साहसिक पर्यटकीय कार्य सञ्चालन गर्ने योजना छ । अहिले चन्द्रागिरिमा २५० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरिरहेका छन् । (रासस)