
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १८औं वार्षिकोत्सव तथा १३औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस २०७४ का अवसरमा मंगलबार भरतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्रमा सानो त्रुटिका कारण मानिसको ज्यानै जानसक्ने भएकाले मानवीय संवेदनामा कसैले खेल्न नपाउने बताए ।
‘स्वास्थ्य संस्था धराशायी बनाउने अधिकार कसैलाई छैन’ भन्दै उनले त्यस्तामाथि कारबाही गर्नुपर्ने बताए ।
अस्पताललाई दक्षिण एसियाको नमुना अस्पताल बनाउन र स्वास्थ्य पर्यटनको विकास गर्न संकल्प र इच्छाशक्ति हुनुपर्ने सुझाव उनले दिए ।
कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले ‘स्वास्थ्य क्षेत्र सुधारका लागि कर्मचारीको संकल्प आवश्यक छ’ भन्दै अत्याधुनिक उपकरण भित्र्याउनुपर्ने बताए ।
नेपाली कांग्रेसका नेता थापाले आउँदो सात वर्षभित्र देशका सरकारी अस्पतालमा उच्च गुणस्तरका रु ४० अर्बभन्दा बढीको उपकरण भित्र्याउनुपर्ने बताए ।
सो अवसरमा अस्पताल सन्चालक समितिका अध्यक्ष डा. प्रकाशचन्द्र न्यौपाने र कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले अस्पतालका प्रगति, समस्या र भावी कार्यक्रमकाबारेमा जानकारी दिएका थिए ।
सोही अवसरमा अस्पतालको नवनिर्मित भवनमा ८० शय्या सन्चालनको शुभारम्भ गरिएको थियो ।
अस्पतालमा बिरामीको चाप बढेसँगै शय्या विस्तार गरिएको छ । २०० शय्याको निर्माणाधीन भवनको काम सम्पन्न भएको स्थानमा मंगलबारदेखि थप ८० शय्या सन्चालनमा ल्याइएको हो ।
यससँगै अस्पतालको शय्या २७४ पुगेको छ । कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
सांसद अञ्जनी श्रेष्ठ र गीता वाग्ले, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, अस्पतालका पूर्वअध्यक्ष गंगाप्रसाद उप्रेती, कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, राप्रपा प्रजातान्त्रिकका जिल्ला सभापति बद्री तिमिल्सिना, प्रजिअ नारायणप्रसाद भट्ट, अस्पताल सन्चालक समितिका सदस्य दिनेश कोइराला, अस्पतालको चाइनिज मेडिकल टिम लिडर डा. युअन हावजुन, अस्पताल सन्चालक समितिका पूर्वअध्यक्ष डा. गिसुपनिख प्रसिको, क्यान्सर सेवा समाजका अध्यक्ष श्याम लामिछानेलगायतले बोलेका थिए । रासस
प्रतिक्रिया दिनुहोस्