वीरगन्ज महानगरपालिकाको मेयरमा फोरम नेपालका सरावगी विजयी • Image Khabar Image Khabar


वीरगन्ज महानगरपालिकाको मेयरमा फोरम नेपालका सरावगी विजयी


Imagekhabar
११ आश्विन २०७४, बुधबार १७:०२

वीरगन्ज महानगरपालिकाको मेयरमा फोरम नेपालका सरावगी विजयी

प्रदेश नम्बर–२ को एकमात्र महानगरपालिका वीरगन्जमा फोरम नेपालका मेयर पदका उम्मेदवार विजय सरावगीले नेपाली कांग्रेसका उम्मेदवार अजय द्विवेदीलाई पछाडि पार्दै विजय हासिल गरेका हुन् ।

बुधबार सार्वजनिक मतपरिणामअनुसार सरावगीले १९ हजार ३९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी द्विवेदीले १७ हजार १९७ मत ल्याएका छन् ।

तेस्रो स्थानमा सीमित भएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका राजेशमान सिंहले १२ हजार १६५ मत प्राप्त गरेका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव ८ हजार ७०१ मतका साथ चौथो स्थानमा रहे । नेकपा एमालेका बसरुद्धिन अन्सारी ८ हजार ६८८ मतका साथ पाँचौं स्थानमा रहे ।

नेकपा माओवादी केन्द्रका रहबर अन्सारी ८ हजार ३०५ मतका साथ छैटौं भएका छन् ।

उपमेयरमा भने नेपाली कांग्रेसकी शान्ति कार्की विजयी भएकी छन् । कार्कीले निकटतम् प्रतिस्पर्धी फोरम नेपालकी पिंकी यादवलाई हराएकी हुन् ।

कार्की १९ हजार ६०७ मतसहित विजयी भएकी हुन् । उनका निकटतम् प्रतिस्पर्धी फोरम नेपालकी यादवले १८ हजार ५३० मत प्राप्त गरिन् ।

उपमेयरमै राजपाकी रम्भा मिश्राले १० हजार ६६३, एमालेकी सोफिया आचार्यले १० हजार ३४१, लोकतान्त्रिक फोरमकी रिंकुदेवी यादवले ७ हजार ५८६ र माओवादी केन्द्रकी दुर्गा क्षत्रीले ५ हजार २८ मत प्राप्त गरिन् ।

को हुन् मेयरमा निर्वाचित विजय सरावगी ?
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एंव नेपाल उद्योग वाणिज्य महासंघको दुईपटक केन्द्रीय सदस्यसमेत रहिसकेका सरावगी गत चैत ६ गते फोरम नेपालमा प्रवेश गरेका थिए ।

पार्टी प्रवेश गरेलगत्तै फोरम नेपालले उनलाई मधेस–प्रदेशको कोषाध्यक्षको जिम्मेदवारी दिएको थियो ।

को हुन् उपमेयरमा निर्वाचित शान्ति कार्की ?
नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेकी शान्ति कार्कीले १७ वर्षको उमेरदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन् ।

८७ वर्षीया कार्कीलाई राजनीतिमा लागेको सात दशकपछिमात्रै पार्टीले स्थानीय तह निर्वाचनमा उपमेयरको उम्मेदवार बनाएको थियो ।

सात दशकदेखि राजनीतिमा लागेपनि कुनै लाभको पद नलिएकी कार्कीलाई पार्टीले स्थानीय तह निर्वाचनमा उपमेयरको उम्मेदवार बनाएलगत्तै उनको पक्षमा जनमत बन्दै गएको थियो ।

वीरगन्जका १२ ओटा वडामा फोरम नेपाल र १० ओटा वडामा कांग्रेस विजयी
वीरगन्ज महानगरपालिकाका कुल ३२ ओटा वडामध्ये फोरम नेपालले सबैभन्दा बढी १२ ओटा वडामा जित हासिल गरेको छ ।

यस्तै, कांग्रेसले १० ओटा वडामा, नेकपा एमालेले पाँचओटा वडामा, राजपाले तीनओटा वडामा, माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक/एकओटा वडाको अध्यक्षमा जितेका छन् ।

कुल एक लाख ८ हजार ५०१ मतदाता रहेको वीरगन्ज महानगरपालिकामा असोज २ गते भएको निर्वाचनमा ८४ हजार १६० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्