
नरमायामात्र हैन, नुनसरी बक्राहा खोलाले घरबारविहीन दुई दर्जनभन्दा बढी घरपरिवार सो स्थानमा टहरा बनाएर बस्दै आएका छन् । नरमायाले गहभरि आँसु झार्दै भनिन्, ‘दशैं लाग्यो, छोराछोरी नातिनातिना हामीलाई लुगा खोई ? भन्दै रुन्छन्, मिठोमिठो चिज चाइयो भन्छन्, हामीले कहाँबाट ल्याउने, कहाँबाट खुवाउने ?’
बस्ने ठाउँको टुंगो नहुँदा दशैँको जमरासमेत राख्न नसकेको नरमायाले सुनाइन् ।
नेपालीको महान चाड वडादशैँको माहोल सबैतिर छाइरहँदा बक्राहा पीडित ती परिवारलाई दशैँ र तिहारको भन्दा पनि बासस्थानकै चिन्ता छ । सो ठाउँमा नरमाया जस्तै दुई दर्जन घरपरिवारको दुःख र पीडा उस्तै छ ।
बक्राहा खोलाले जमिनसँगै घरसमेत बगाएपछि सो वडाका दुई दर्जन घर परिवार विगत एक वर्षदेखि स्थानीय मिक्लुङ सामुदायिक वनमा टहरा बनाएर बस्दै आएका छन् ।
नेपालीको महान् चाड दशैँको सबैतिर रमझम छाइरहँदा सो टहरामा बस्दै आएका मानबहादुर गोलेले भने दशैँको उत्साह नभएको बताए ।
‘खोलाले घर बगाइहाल्यो,’ गोलेले भने, ‘मनभरि पीडा बोकेर दशैँ मनाउन के मन लाग्ला र ?’ बक्राहामा गत वर्ष आएको बाढीले १३० बिगाहाभन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत गरिदिएको छ भने दुई दर्जन परिवारलाई जंगलको बास बनाइदिएको छ ।
बाढीले घर डुबायो, दिनरात छाडा पशु र जंगली जनावरको त्रास बोकेर ज्यान जोगाउन ती परिवार जंगलमा बसेका छन् । तर पनि दशैँ जस्तो चाडमा ऋण खोजेर भए पनि मनाउने धोको छ, कमानसिंह चौलागाईंको । उनले भने, ‘ऋण काडेर भएपनि पर गाउँमा तीन केजी मासु खोजेको छु, दुईजना ज्वाइँ आउनुहुन्छ, उहाँहरुलाई निधारमा टीका र कानमा जमरा त लगाइदिनै प¥यो ।’
सोही ठाउँमा टहरा बनाएर बस्दै आएकी प्रितिमाया गोले भने यस वर्ष अरुले दिएको पुरानै कपडा लगाएर भएपनि दशैँ कटाउने योजना रहेको बताइन् । उनले भनिन्, ‘नयाँ लुगा त पैसा भए पो लाउनु, अरुले दिएको पुरानो कपडा लगाउनुपर्ला जस्तो छ ।’
सो गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले यस वर्षको दशैँमा बाढीबाट विस्थापित भएकाका लागि सहयोग गर्न नसकिएको बताए । दैवीप्रकोप उद्धार समिति, मोरङमा बजेट माग गरिए पनि उपलब्ध हुन नसकेका कारण बाढीबाट विस्थापितलाई दशैँ जस्तो चाडपर्वमा समेत सहयोग गर्न नसकेको उनले बताए ।
नुनसरी बक्राहा खोला बस्तीको सतहभन्दा अग्लो बनेको छ । चुरे क्षेत्रबाट बगाएर ल्याएको लेदो, ढुंगा, गिट्टीका कारण खोलाको भाग अग्लो भई बस्ती बगाएको हो । खोलाको भाग बस्तीको भन्दा समग्रमा डेढ मिटर अग्लो छ । गुरुयोजना बनाएरै खोलाको तटबन्ध गर्न सकेमात्र बाढी नियन्त्रणमा आउने देखिएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्