
मध्यरातमा निस्किएर हात्तीले अन्नबाली खानुका साथै घर भत्काउन थालेपछि स्थानीय त्रसित भएका हुन् ।
भद्रपुर नगरपालिकास्थित साबिक पृथ्वीनगर–१ र २ मा हात्तीले स्थानीयवासीको अन्नबाली खानुका साथै घरसमेत भत्काइदिएको छ ।
रातको समयमा आहाराको खोजीमा निस्किएर हात्तीले क्षति पुर्याउने गरेको स्थानीयवासी खड्गबहादुर कार्कीले बताए ।
‘बिहान ३ बजे गाउँमा आएको हात्तीले मेरो घर भत्काइदियो’–पीडित कार्कीले भने–‘घरभित्र तीनवर्षे नानी थियो, धन्न केही भएन ।’
केही दिनअघि हात्तीले अरुण शेर्पा, श्रीप्रसाद प्रधान, सलबहादुर भट्टराई, मिश्र माइला, रुद्र श्रेष्ठ र सूर्यबहादुर तामाङको खेतमा लगाइएको धान नस्ट गरेको छ ।
त्यस्तै, हात्तीले हुमलाल अधिकारीको सिमल तरुल खाइदिएको छ भने मोक्क्ष निरौलाको धानको भकारीबाट धान नस्ट गरेको छ । दिनहुँजसो हात्ती निस्किन थालेपछि स्थानीयवासी त्रसित बनेका छन् ।
हात्ती धपाउन स्थानीयवासीले रात्रिगस्तीसमेत गर्दै आइरहेको स्थानीयवासी सूर्य तामाङले बताए ।
जिल्ला वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जिल्लाका पृथ्वीनगर, चारआली, बाहुनडाँगीलगायतका जंगलमा रहेका १२/१३ ओटा रैथाने हात्तीले क्षति पुर्याउँदै आएको बताए ।
उनले जंगलीहात्ती नियन्त्रणका लागि बजेटसमेत आएको बताउँदै नियन्त्रणका लागि विद्युतीय तारबार र हात्तीको जैविकमार्ग निर्माण गर्न लागिएको जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्