
सरकारी अवरोध र चर्को झडपका बीच क्याटलोनियाले अलग हुन पाउनुपर्ने भन्दै गरेको जनमत संग्रहमा कूल खसेको ४२ दशमलव २ प्रतिशत मतमध्ये ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेको क्याटेलियन नेताहरुले दाबी गरेका छन् ।
क्याटेलियन नेता कार्लेस पुइगदिमोन्टले मतमत संग्रहले स्पेनबाट अलग हुने बाटो खुला गरिदिएको बताएका छन् ।
उनले सरकारी दमनका बीच ९० प्रतिशत मतदाताले स्वतन्त्रताको पक्षमा मतदान गरेको दाबी गरे ।
तर यो जनमतसंग्रहलाई सरकारले असंवैधानिक घोषित गरेको छ । स्पेनको संवैधानिक अदालतले पनि जनमत संग्रहलाई असंवैधानिक कदम भनेको छ ।
क्याटेलियनहरुले एकपक्षीय रुपमा गराएको जनमत संग्रह रोक्न सरकाले ठूलो शक्ति प्रयोग गरेको थियो । जनमत संग्रहका क्रममा सुरक्षाकर्मी र क्याटेलियनहरुबीच ठाउँठाउँमा झडप भएको थियो ।
त्यस क्रममा सुरक्षाकर्मीले बल प्रयोग गर्दा कयौं घाइते भएका थिए ।
सयौं व्यक्तिलाई सरकारी सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिएका छन् भने जनमत संग्रहका लागि राखिएका ब्यालेट बक्ससमेत नियन्त्रणमा लिएका थिए ।
सरकारी दमनकैबीच ठूलो संख्यामा मतदाताहरु निर्वाचनमा सहभागी भएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्