
विभिन्न नाका हुँदै अहिले दैनिक ७० हजारभन्दा बढी मानिस काठमाडौं फर्कन थालेको ट्राफिक प्रहरीले जनाएको छ ।
जसोतसो बिदा मिलाएर दशैं मान्न पुख्र्यौली थलोमा पुगेकाहरु कर्मथलोमा फर्कन थालेका छन् । दशैंको टीका लगाएलगत्तै उनीहरु कर्मथलोमा फर्कन थालेका हुन् ।
अहिले दैनिक ७० हजारभन्दा बढी मानिस विभिन्न नाका हुँदै काठमाडौं भित्रिँदै छन् । छोटो समयका लागि छुट्टि मिलाएर पुख्र्यौली थलोमा पुगेर मान्यजनका हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरेका उनीहरु कामको चटारोले चाँडै गरेर काठमाडौं फर्किएका हुन् ।
काठमाडौं प्रवेश गर्ने नाकाहरुमा सवारीको जाम हुन थालेको छ । थानकोट, गोंगबु नयाँबसपार्क, कोटेश्वर, बल्खुलगायतका क्षेत्रमा दशैं मनाएर फर्किनेहरुको भीड लागेको छ ।
दशैं मनाउन गएका अधिकांश यात्रुले यसपटकको यात्रा सहज भएको बताएका छन् । घर जाँदा टिकट नपाउने समस्या भए पनि फर्कँदा भने सजिलै भएको उनीहरुको भनाइ छ । राजमार्गहरुमा पनि जाममा नपरेको उनीहरुको प्रतिक्रिया छ ।
सडकको दुरावस्थाका कारण भने केही सास्ती खेप्नुपरेको गुनासो यात्रुहरुको छ । कतिपय यात्रुले भने यातायात व्यवसायीले बढी भाडा लिएर दुःख दिएको गुनासो गरेका छन् ।
राजमार्गहरुमा सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीले पनि विशेष सतर्कता अपनाएको छ । सवारी साधनलाई चाँडो गन्तव्यमा पुग्ने व्यवस्था गर्न ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
प्रतिक्रिया दिनुहोस्