एकीकरण र तालमेलको फगत हल्ला • Image Khabar Image Khabar


एकीकरण र तालमेलको फगत हल्ला


Imagekhabar
१७ आश्विन २०७४, मंगलवार ११:५२

एकीकरण र तालमेलको फगत हल्ला

 

एकथरि राजनीतिक पण्डितहरु अत्यन्त उत्साहित भएर समाचारको सूत्र र एकताका सूत्र आफैँ भएझैँ अबको नेपाल साम्यवादीमय भयो भनेर भावी दिनहरुको लेखाजोखा गरिरहेका पाइन्छन् भने एकथरि साँच्चै नेपाल अब कम्युनिस्टमय भयो भनेर टाउकोमा हात राखेर खुइय गरेको पनि अनुभूत गर्न सकिन्छ ।केही दिन अघिमात्र माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबका दश वर्षमा नेपाल साम्यवादीमय हुने ठोकुवा गरेको कुरालाई सम्झँदा र अहिलेको एकतासम्मको प्रयासलाई सुन्दा कुरो भित्रैसम्म पुगेको अनुमान त गर्न सकिन्छ तर के कारणले अहिलेसम्म साम्यवादीकरण हुन नसकेको अनि के कारणले अब साम्यवादीकरण हुने आशा पलाएको खुलस्त पारिएको थिएन ।

वास्तवमा नेपालमा राजनीतिक ध्रुवीकरणको खाँचो थियो तर हुन सकेको थिएन र अझै पनि हुँदैन । आजसम्म गैर कम्युनिस्टले कम्युनिस्ट एकता भाँडेको पनि होइन र गैर प्रजातन्त्रवादीले प्रजातन्त्रवादीहरुलाई एक हुन रोकेको पनि पाइँदैन । नेपालमा अहिलसम्मको दलीय क्रियाकलापका आधारमा नेपाली काँग्रेसबाहेक अरु कुन कुन दलहरु प्रजातन्त्रवादी हुन् भन्ने थाहा हुन सकेको छैन एकातिर भने दलको नाममा कम्युनिस्ट राखेका बाहेक सिद्धान्त, चरित्र र अभ्यासका आधारमा कुन दलचाहिँ साम्यवादी हो र को को साम्यवादी हुन् भन्ने निक्र्यौल गर्ने मानक फेला परेको छैन । र अहिलेसम्म किन नेपालका साम्यवादी हौँ भन्नेहरुका बिचमा एकता हुन सकेन भन्ने पनि कुनै कारण देखिएको छैन अनि एकता भएर त्यो पनि टिकाउ हुन्छ भन्ने आधार पनि देखिएको छैन ।

संविधान सभा पहिलो र दोस्रो निर्वाचन अनि स्थानीय तहको तीन चरणको निर्वाचनलाई दृष्टिगत गरेर कसले कसलाई कति ठग्ने हो भन्ने एउटा नाटक मन्चन हुन लागेको देखिन्छ सत्तालाई केन्द्रविन्दुमा राखेर । सत्ता भनेको आगामी संसदको अवस्था, त्यसपछिको सत्तासमीकरण र राष्ट्रका महत्वपूर्ण पदहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख, उपसभामुख जस्ता पदहरुमा कब्जा गर्नु हो । अहिले पनि कब्जा त छ वामपन्थीहरु भनेर आफूलाई भन्न रुचाउनेहरुकै । मात्र प्रधानमन्त्री नेपाली काँग्रेसको भागमा पारिएको हो सत्ता गठबन्धनमा यसपटक पनि । संविधान घोषणापश्चात लगत्तै जुन प्रयास भएको थियो, त्यसैको पुनारवृत्ति भएको जस्तो लाग्छ र आगामी निर्वाचनमा जसरी हुन्छ, नेपाली काँग्रेसलाई नेपाली राजनीतिको क्षितिजबाट अलग्ग्याउने प्रयासस्वरुपको नयाँ रणनीति बनेको हुुनुपर्छ । यस्तो बन्दै रहन्छ र नियतिको आधारभूत परिणामहरु पनि आफैँ देखिँदै जानेछन् ।

यत्तिवेर नेपालको इतिहासको त्यो कालखण्डको स्मरण हुन्छ जुनबेला राजाले प्रजातन्त्रका विरुद्धमा सैनिक शासनको सुरुवात गरेका थिए र दरभंगा प्लेनमले दरबारलाई नै सहयोग गरेर नेपालमा सदाका लागि प्रजातन्त्रका विरुद्धमा अनि नेपाल साम्यवादीकरण गर्ने भनेर नीति तयार गरेको थियो । त्यसको फलस्वरुप आज देखिने विभिन्न स्वरुपमा कम्युनिस्ट पार्टीहरु नेपालमा छन् तर कम्युनिस्टहरुलाई प्रोत्साहन दिने न त राजतन्त्र रह्यो , न नेपालको कम्युनिस्ट आन्दोलनले प्रजातन्त्रको दुहाइ नदिई नेपाली जनताको मन नै जित्न सक्यो । अहिले पनि नेपालको सेवा गर्नका लागि सबै ठाउँमा कम्युनिस्टहरुको प्रभाव छ र दबदबा छ । एकीकरणको नाटक आवश्यक पनि छैन र रहर पूरा गर्नेहरुले पनि एकीकरण, ध्रुवीकरण र अनेकीकरण भोगेको अवस्था छ । नेपालका कम्युनिस्टहरुलाई न त फुट्न सिकाउनु पर्छ , न त जुट्न नै महाभारत देखिन्छ । बरु प्रजातन्त्रीकरण हुन भने हम्मे हम्मे परेको चाहिँँ देख्न पाइन्छ ।

प्रजातन्त्रवादी हुनका लागि पनि नीतिमा स्पष्टता, अभ्यासमा तीक्ष्णता र सिद्धान्तमा अडान चाहिन्छ । अवसरवादी भएर प्रजातन्त्रको डुङ्गा पार लाग्न सक्दैन । नेपालमा जनताले भर गर्ने नेताहरुको कमी भएको छ । महाभारतमा एउटा नीति कथा यस्तो पाइन्छ—एकपटक एउटा ब्रतबन्ध नगरेको किशोर ब्राह्मण पुत्रको निधन भयो । शवलाई लिएर घाटमा मलामी गए । धेरै दिनदेखि कुनै लास नआएकाले घाटको नजिक बसेका गिद्ध र स्यालले खान पाएका थिएनन् । त्यो लास आए पछि गिद्धको राजाले गएर मलामीलाई भनेछ—यो ब्रतबन्ध नगरेको किशोरको शवलाई जलाउनु हुँदैन, त्यसै यही घाटमा छोडेर जानुहोस् । मलामीहरुमा जलाउने कि गाड्ने भन्ने विवाद सुरु भएको बेलामा स्याल आएर भन्न थालेछ-बरु यो किशोरको शवलाई पानीमा खुट्टा डुबाएर राख्नुहोस् किनभने यो बौरन पनि सक्छ । यसको मतलब के थियो भने दिउँसो भए गिद्धले उसलाई खान दिँदैनन् , रातमा भए त आफूले मात्र खान पाउँथे किनभने यो मरेको किशोर बाँच्दैन । दिउँसो जलाउने कि गाड्ने कि यसै शव छोड्ने भन्दाभन्दै साँझ पर्न थाल्यो । गिद्धहरुलाई चिन्ता गर्दै थिए धेरै दिन भयो खान नपाएको, तै खान पाइन्छ कि भनेर अनि साँझ पर्न थाल्यो अब त खान पाइने भयो भनेर स्याल लुकेर बसेको थियो ।त्यही बेलामा पार्वतीले शिवजीलाई त्यो किशोर बचाइ दिन अनुरोध गर्नु भयो यो सबै चर्तिकला देखेर । किशोर बाँच्यो र मलामीहरु खुसी हुँदै घर गए ।यसरी समयले कोल्टे फेर्दा गिद्धले पनि शव खान पाएन, स्यालले पनि खान पाएन । उल्टै उनीहरुको लोभीपन देखेर शिवजीले किशोरलाई व्युँताइदिनु भयो ।

सत्तालाई बडो नजिकबाट हेरेर कब्जा गर्ने नियतले एकीकरणको प्रयास भएको देखिन्छ । प्रजातन्त्रीकरणको पक्षमा होइन भन्ने कुरा अहिलेसम्मका व्यवहारले देखाउँछ । स्थानीय तहको निर्वाचनमा देखिएको मतका आधारमा कसले कसलाई कति छक्काउने भनेर एकीकरणको प्रयासको नाटक मन्चन हुन लागेको हो भन्ने अनुमान गर्न गाह्रो छैन । हुन त प्रजातन्त्रवादीहरुको र गैर प्रजातन्त्रवादीहरुका बिचमा ध्रुवीकरण भएर जनतालाई मतदान गर्ने विकल्पका लागि स्थान दिनु जरुरी छ । तर तरबार बेच्ने र घिउ बेच्ने नियतले न त एकता हुनसक्छ , न त चुनाबी तालमेल नै हुनसक्छ ।

मुलुकमा भ्रष्टाचारका विरुद्ध लड्नु छ, गरिबीका विरुद्ध लड्नु छ, रोग र भोकका विरुद्धमा लड्नका लागि एकीकरण हुनु आवश्यक छ तर अहिले नेपाली काँग्रेसका विरुद्धमा एकीकरणको प्रयासले अवसरवादिता र एकले अर्कालाई छल्ने उपायको खोजी हुन थालेको देखिन्छ । मिलून् सबै , कोही पनि कहिल्यै नफुटून् भनेर जति भने पनि , भाकल गरे पनि फुटेकै छन्क,छन् । कहिले जुटेकै छन् र जसजसको प्रजातन्त्रप्रति आस्था छैन, उनीहरुको एकताले आजको संसारमा कुनै राजनीतिक महत्व राख्दैन । आगामी निर्वाचनमा सत्ता कब्जा गर्दैमा न त प्रजातन्त्र कमजोर हुन्छ, न त नेपालको प्रजातान्त्रिक संघर्ष दबिएर जान्छ ।

प्रजातन्त्रलाई जीवनको सँस्कार बनाउन सकेमा भने त्यहाँ साम्यवादीकरणको पनि कुनै प्रसङ्ग बाँकी रहने छैन नेपाली राजनीतिमा । सबै प्रजातन्त्रवादी हुने अवस्था र मुलुकको विकासका लागि दीर्घकालीन सोचको आवश्यकता भने जरुरी भएको अवस्थामा अरु एकीकरण भन्दा राष्ट्रिय जागरणको चाहिँ आवश्यकता महसुस हुन थालेको छ कसैका विरुद्धमा होइन, सबै नेपालीको पक्षमा ।

 

प्रतिक्रिया दिनुहोस्