अछामका दश तहमा ३ अर्ब ३१ करोड बजेट • Image Khabar Image Khabar


अछामका दश तहमा ३ अर्ब ३१ करोड बजेट


Imagekhabar
१८ आश्विन २०७४, बुधबार १३:०५

अछामका दश तहमा ३ अर्ब ३१ करोड बजेट

 

अछाम जिल्लाका सबै १० वटा स्थानीय तहले आफ्नो वार्षिक बजेट नीति तथा कार्यक्रम गाँउ/नगर सभावाट पारित समेत गरि कार्यान्वयन चरणमा अघि बढिरहेको बताएका छन ।

जिल्लाका ६ वटा गाँउपालिकाका लागि १ अर्व ७८ करोड १३ लाख बढी र ४ नगरपालिकाको लागी कुल १ अरब ५५ करोड १६ लाख बढी बजेट रहेको पाईएको छ ।

स्थानीय तहको निर्वाचन पछि भएका प्रथम गाँउ/नगर सभाहरुले आ–आफ्नो बजेट बनाएर गाँउ तथा नगरसभा मार्फत पारित गरि कार्यान्वयन प्रक्रिया अघि बढिसकेको छ ।

दशवटै स्थानीय तह मध्ये सबैभन्दा बढी बजेट मंगलसेन नगरपालिकाले ल्याएको छ ।

५० करोड ९६ लाख ७ हजार बजेट ल्यायको मंगलसेन नगरपालिकाले पूँजीगत तर्फ ३७ करोड २९ लाख ७२ हजार र साधारणीकि तथा चालु तर्फ गरी १३ करोड ६६ लाख ३५ हजार बजेट पारित गर्दै पूर्वाधार निर्माणलाई बिशेष प्राथमिकता दिएको नगरपालिकाका कार्यकारी अधिकृत गणेश ढुंगानाले जानकारी दिए ।

यस्तै साँफेबगर नगरपालिकाले ४० करोड बढी बजेट पारित गरेको छ भने पञ्चदेवल बिनायक नगरपालिकाले ३४ करोड २५ लाख बजेट पारित गरेको र सडक निर्माणलाई प्रमुखताका साथ अगि बढाएको नगर उपप्रमुख अम्विका चलाउनेले जानकारी दिइन् ।

नगरहरु मध्ये सबैभन्दा कम बजेट रहेको कमलबजार नगरपालिकाले २९ करोड ९५ लाख बराबरको बजेट निर्माण गरि सडक, बिद्युत र कृषिमा जोड दिएको नगर प्रमुख ओमप्रकाश बिष्टले बताए ।

यस्तै ६ वटा गाँउपालिकाहरु मध्ये सबैभन्दा बढी बजेट तुर्माखाद गाँउपालिकाले ल्यायको छ ।

३३ करोड २० लाख ४१ हजार ८ सय ५० बराबरको बजेट ल्यायको गाँउपालिकाले बिद्यालय पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर सुधारलाई प्रमुख प्राथमिकतामा राखेको छ भने सडक, कृषि लगायतका क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ ।

‘दक्ष शिक्षक, जवाफदेही अभिभावक अनुशासित बिद्यार्थी’ मुल नारा दिई शिक्षालाई केन्द्रबिन्दुमा राखेर आफुले बजेट ल्याएको गाँउपालिका अध्यक्ष पुष्पराज शर्माले बताए ।

यस्तै रामारोशन गाँउपालिकाको प्रथम गाँउसभाले ३० करोड ७० लाख बजेट पारित गरेको छ ।

गाउसभाले सबै वडालाई सडक सञ्जालमा जोड्ने र जिल्लाकै प्रमुख पर्यटकिय क्षेत्र रामारोशनमा पर्यटन विकासलाई मुख्य प्राथमिकता दिई बजेट नीति तथा कार्यक्रम पारित गरि कार्यान्वयनको चरण सुरु भईसकेको अध्यक्ष झंकर साउदले जानकारी दिए  ।

ढकारी गाउपालिकाले ३० करोड ४८ लाख बजेट पारित गरि सडकलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरु कार्यान्वयन चरणमा अगि बढाएको छ ।

कमलबजार नगरपालिकावाट ढकारी गाँउपालिका जोड्ने सडक फराकिलो बनाई बस गुड्ने गरि स्तरोन्नती गरिसकिएको र सबै वडालाई जोड्ने सडकहरुमा पर्याप्त बजेट छुट्याईएको गाँउपालिका अध्यक्ष धनबहादुर बुढाले बताए ।

यता मेल्लेख गाँउपालिकाले भने एक बर्ष भित्र सबै वडामा सडक पुर्याउने लक्ष्यसहित “मेल्लेख गाउपालिकाको जोड, दुर्घटना रहित स्वच्छ वातावरणिय रोड” भन्ने नारालाई अंगिकार गर्दै कुल ३१ करोड २९ लाख ३२ हजार ९ सय बराबरको बार्षिक बजेट पारित गरेको छ ।

बार्षिक बजेट, नीति तथा कार्यक्रममा गाँउपालिकाले पूर्वाधार विकास, कृषि तथा पर्यटनलाई समेत प्राथमिकतामा राखेको अध्यक्ष लोकबहादुर बोहरा बताउँछन ।

३० करोड ४० लाख २४ हजार बजेट पारित गरेको चौरपाटी गाँउपालिकाले पनी सडक, कृषि, बिद्युत लगायत क्षेत्रलाई समेटेर योजनाहरु ल्याएको छ भने बान्नीगढी जयगढ गाँउपालिकाले २२ करोड ६ लाख २५ हजार बढीको वार्षिक बजेट पारित गर्दै खानेपानी, सडक, शिक्षा र कृषि क्षेत्रका योजनालाई प्रमुखताका साथ अगि बढाएको छ ।

यस अघी जेठ महिनामा नेपाल सरकारले ल्याएको संघीयता पछिको पहिलो बजेटले अछामका १० वटै स्थानीय तहका लागि आर्थिक वर्ष २०७४/०७५ मा तीन अर्ब १६ करोड ३९ लाख ४१ हजार रुपैयाँ बजेट प्रदान गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेटलाई बढी भन्दा बढी स्थानीय तहलाई केन्द्रित गरेर छुट्याइएको र सोही अनुसार स्थानीय तहले बजेट कार्यान्वयनको चरणलाई अगि बढाउँदा स्थानीय हर्षित भएका छन ।

केन्द्रसम्म पहँच नभएकाहरुलाई स्थानीय तह मार्फत कार्यान्वयनमा आएको बजेटले केही हौसला समेत बढाएको सरोकारवालाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्