२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


अमेरिका, चीन र भारतका राजदुतलाई काठमाडौं डाकियो


0
Shares

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा तीनै राजदूतलाई बोलाइएको हो ।

सम्बन्धित मुलुकमा रहेका राजदूतहरूले अहिलेसम्म गरेका काम र गर्नुपर्ने कार्ययोजनाबारे जानकारी लिन उनीहरूलाई काठमाडौं बोलाइएको हो ।

समितिमा उनीहरूले आफ्नो काम, भूमिका, ती देशमा नेपालको अवस्था र महत्त्वबारे प्रस्तुति दिनेछन् । ती प्रस्तुतिमा मन्त्रालयसँगको समन्वय र मन्त्रालयले गर्ने ‘रेसपोन्स’ लाई समेत ध्यान दिइने जनाइएको छ ।

अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल काठमाडौं आइसकेका छन् ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय बिहीबार बिहान आइपुग्नेछन् ।

नेपालको परराष्ट्र नीति छिमेकबाट नै आरम्भ हुने हुनाले दुवै छिमेकका राजदूत र विश्व शक्ति मुलुकका लागि नेपाली राजदूतलाई पहिलो चरणमा निम्त्याएर संसदीय समितिले छलफल गर्न लागेको हो ।

अन्य मुलुकमा समेत यस्तो अभ्यास रहेको भन्दै राजदूतहरूलाई सक्रिय बनाउन अग्रसरता देखाइएको समितिले जनाएको छ ।

पाँच दर्जनभन्दा बढी व्यक्तिसमक्ष नेपालको कूटनीतिक अभ्यासबारे प्रस्तुति गर्न लगाउने तयारी समितिको छ ।

कूटनीतिका कुन र कतिसम्म विषय समितिमा राख्ने भन्नेमा राजदूतहरू अलमलमा छन् ।
-कान्तिपुर दैनिकबाट