Logo ४ माघ २०८२, आइतबार | Sun Jan 18 2026


तीन दिनभित्रमा प्रतिवेदन तयार गर्न शीर्ष नेताको निर्देशन


0
Shares

नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेल र पार्टी एकीकरणबारे मंगलबार समझदारी भएको थियो । सोहीअनुरूप क्षेत्र निर्धारण र घोषणापत्र तयार गर्न बुधबार दुईओटा कार्यदल गठन गरिएको थियो ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बिहीबार बसेको क्षेत्र निर्धारण र संयुक्त घोषणापत्र तयार गर्न गठित दुईओटै कार्यदलको प्रथम संयुक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताले सात दिनभित्रमा घोषणापत्रको मस्यौदा तयार गर्न निर्देशन दिएका हुन् ।

संविधान, लोकतन्त्र, सामाजिक न्यायलगायतका अन्य विषयलाईसमेत सम्बोधन गरेर घोषणापत्र तयार गर्न शीर्ष नेताहरूले निर्देशन दिएको नेता गंगा श्रेष्ठले जानकारी दिए ।

समितिमा एमालेको तर्फबाट नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता रामबहादुर थापा, नेताहरू वर्षमान पुन र मातृका यादव तथा नयाँ शक्ति पार्टीका तर्फबाट नेता गंगा श्रेष्ठ रहेका छन् ।

सहमतिअनुसार समितिलाई ६० प्रतिशत एमाले र ४० प्रतिशत माओवादी केन्द्र हुनेगरी प्रत्यक्षतर्फको उम्मेदवार चयन गर्ने जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, संयुक्त चुनाव घोषणापत्र मस्यौदा बनाउन गठित कार्यदलमा एमालेबाट उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल तथा नयाँ शक्ति पार्टीका डम्बर खतिवडा र डा. लक्ष्मी देवकोटा छन् । रासस