१२ जेष्ठ २०८२, सोमबार | Mon May 26 2025


चीनले उत्तर कोरियालाई दिने इन्धन घटायो


0
Shares

चीनले अक्टोबरको सुरुदेखि नै सो आपूर्तिको मात्रा घटाउने वा नियन्त्रण गर्ने यसअघि नै जनाएको थियो । चिनियाँ वाणिज्य मन्त्रालयले सो जानकारी दिएको छ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियाद्वारा निरन्तररूपमा गर्दै आएका आणविक अस्त्र परीक्षणलाई लिएर आर्थिक प्रतिबन्ध लगाएको छ ।

सोही नाकाबन्दीस्वरुप चीनले उत्तर कोरियामाथि प्रतिबन्ध कडा पार्दै उक्त निर्णय गरेको हो ।

त्यसैगरी, सो मुलुकबाट आफूले गर्ने कपडाको आयात पनि बन्द गरिएको घोषणा गरेको छ ।

संयुक्त राष्ट्रसंघले तयार पारेको चीन तथा उत्तर कोरियाबीचको भन्सार तथ्यांकअनुसार सन् २०१६ मा चीनबाट प्रतिदिन ६ हजार ब्यारेल इन्धन उत्तर कोरिया निर्यात गरिएको थियो ।

तर, चीनले सन् २०१४ पछि उत्तर कोरियालाई दिने गरेको इन्धनको तथ्यांक सार्वजनिक नगरेका कारण इन्धन निर्यातको वास्तविक तथ्यांक भने सार्वजनिक हुन नसकेको बताइएको छ ।

सुरुमा वासिङटनले उत्तर कोरियामाथि पूर्णप्रतिबन्ध लगाउन आग्रह गरेपनि चीन र रुसको समर्थन लिन पछि उक्त अडानमा अमेरिका केही लचिलो बनेको हो ।

उत्तर कोरियालाई चीनले सहयोग गर्दै आएको आरोप अमेरिकाको थियो । अमेरिकाले चीन उत्तर कोरियाको प्रमुख व्यापार सहयोगी रहेको र यी दुई देशबीच ठूलो मात्राको आर्थिक क्रियाकलाप हुने गरेको बताउँदै आएको छ ।

पछिल्लो समयमा उत्तर कोरियाले शक्तिशाली आणविक परीक्षणहरु गर्दै आएको छ ।

ती परीक्षणबाट विश्वमा हतियारको होडबाजी सुरु हुने त्रास बढ्दै गएको बताउने गरिएको छ । रासस/एएफपी