
भूकम्प र नाकाबन्दीका कारण अघिल्लो ‘सिजन’मा सुस्ताएको पोखराको पर्यटन व्यवसाय यो सिजनमा भने सुधार हुने आशामा व्यवसायी छन् ।
यतिबेला अन्नपूर्ण पदमार्ग र आसपासका हिमाली क्षेत्रमा पदयात्राको मौसम सुरु भएको छ । जसका कारण पर्यटकीय नगरी पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहल–पहल बढेको हो ।
अन्नपूर्ण पदमार्ग र अन्य हिमाली क्षेत्रको पदयात्राअघि र पछि विश्रामस्थल पनि पोखरा नै हुने गरेको छ । त्यसैले पोखराका तारे र साना होटलहरुमै पनि पर्यटक बढेको देखिन्छ ।
पोखरामा ५०० बढी होटलमा दैनिक २० हजार बस्नसक्ने क्षमता छ । यतिबेला कुल क्षमताको ४० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायी बताउँछन् ।
अक्टोबरदेखि अन्नपूर्ण हिमशृंखला खुल्ने भएकाले दृष्यावलोकनका लागि पोखरा आउने पर्यटकले होटल बुकिङ गर्न थालेको व्यवसायी बताउँछन् ।
यस सिजनमा ८० प्रतिशत अकुपेन्सी पुग्ने व्यवसायीको आशा छ ।
यस्तै, दसैं–तिहारमा आन्तरिक पर्यटकलाई लक्षित गरी होटल तथा रेस्टुरेन्ट व्यवसायीले ३० प्रतिशतसम्म छुटसहितका प्याकेज बनाएका छन् ।
पोखराको पर्यटनमा निजी क्षेत्रकोमात्रै एक खर्ब रुपैयाँभन्दा बढी लगानी पुगेको जनाइएको छ ।
पोखरा पाराग्लाइडिङ, बन्जिजम्प, अल्ट्रालाइट, क्यानोनिङजस्ता साहसिक खेलकोसमेत गन्तव्य बनेको छ ।
पोखरामा पछिलो समय होटल बन्नेक्रम पनि बढेको छ । यहाँ हाल साना–ठूला गरी करिब ६०० होटल सन्चालनमा छन् ।
प्रतिक्रिया दिनुहोस्