११ असार २०८२, बुधबार | Thu Jun 26 2025


कास्की एमालेमा विवाद, नेपाल पक्ष ‘रिङ आउट’, माओवादी केन्द्रमा उम्मेदवार छनोट स्थगित


0
Shares

वाम एकतामा चुनावी सहकार्य हुने भएपछि यसअघि सिफारिस भएका उम्मेदवारहरु पनि हेरफेर हुनसक्ने बुझिएको छ ।

यसअघि, कास्कीमा नेकपा एमाले र माओवादी केन्द्रले उम्मेदवार सिफारिस गरिसकेका छन् । तर, नयाँ समीकरणपछि त्यो फिर्ता लिने र पुनः उम्मेदवार चयन गरिने दुवै पार्टीले जनाएका छन् ।

यद्यपि, ठूला दलहरु उम्मेदवार सिफारिसका लागि निरन्तर छलफलमा जुटिरहेका छन् ।

नेपाली कांग्रेसले भने सबै क्षेत्रको प्रत्यक्ष र समानुपातिकको नामावली केन्द्रमा बुझाएको छ भने एमालेले पनि प्रत्यक्षतर्फका सबै उम्मेदवारको नामावली तयार पारिसकेको छ ।

माओवादीले केन्द्रले भने केही क्षेत्रमात्रै टुंग्याएर गठबन्धनको निर्णय कुरेको छ । अरु साना दलहरु पनि केन्द्रीय निर्देशनमा अलमलिएका छन् ।

वाम गठबन्धनपछि कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको पनि तयारी भइरहेको छ ।

जिल्लामा सक्रिय राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति नेपाललगायतका पार्टीहरु केन्द्रको निर्णय कुरिरहेका छन् । जसका कारण केही दलहरुले आन्तरिकरुपमा उम्मेदवार टुंग्याएपनि सार्वजनिक गरेका छैनन् ।

‘आन्तरिकरुपमा हामी तयार छौं । नाममात्रै सार्वजनिक गर्न बाँकी छ’–संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दीपक तामाङले भने–‘लोकतान्त्रिक गठबन्धनको हल्लाले रोकिएका हौं । केही दिनभित्रै सार्वजनिक हुन्छ ।’

राप्रपा जिल्ला अध्यक्ष जयलाल पुनले पनि केन्द्रीय समितिबाट निर्देशन आउनेबित्तिकै काम थाल्ने बताए ।

नयाँ शक्ति नेपाल पनि वाम गठबन्धनको अलमलमा छ । तर, कास्कीका सबै क्षेत्रमा उम्मेदवार टुंग्याएर केन्द्रमा नाम भने सिफारिस भइसकेको छ ।

नयाँ शक्तिले कास्की क्षेत्र नम्बर–१ मा कर्णेल मदन केसी, २ मा हेमबहादुर थापा र ३ मा देवी सुवेदीको नाम टुंग्याएको छ ।

यस्तै प्रदेश, सांसदका लागि १ नम्बर क्षेत्रको (क)मा नारायणहरि तिवारी, कमल थापा, कृष्ण रानाभाट र विकल पौडेलको नाम सिफारिस भएको छ भने (ख)मा रमेश सिके, आरसी कुँवर र खुसीमान गुरुङको नाम सिफारिस भएको छ ।

२ नम्बर क्षेत्रको (क)बाट खड्क गुरुङ र (ख)बाट डम्बर केसीको नाम पठाइएको छ । क्षेत्र नम्बर ३ तर्फ (क)मा नारायण भण्डारी र (ख)मा तोयानाथ लम्साल, दामोदर त्रिपाठी र मीन पौडेलको नाम केन्द्रमा पुगेको जिल्ला संयोजक हेमबहादुर थापाले जानकारी दिए ।

कास्कीमा एमालेका उम्मेदवार टुंगिए, खगराज र रवीन्द्र सर्वसम्मत्
नेकपा एमालेले पनि बिहीबार जिल्लाका ९ ओटै पदका लागि उम्मेदवार सिफारिस गरेको छ ।

क्षेत्रीय कमिटीको बैठकले संघका लागि तीन र प्रदेशका लागि ६ ओटा क्षेत्रमा उम्मेदवार टुंग्याएको हो ।

संघीय चुनावका लागि क्षेत्र नम्बर–१ बाट खगराज अधिकारी र क्षेत्र नम्बर–२ बाट रवीन्द्र अधिकारी सर्वसम्मत् भएका छन् । ३ नम्बर क्षेत्रमा भने सर्वसम्मत् हुन नसकेपछि भोटिङबाट तीनजनाको नाम छानिएको छ ।

क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचनका लागि जगत विश्वकर्मा, जगन्नाथ बास्तोला र उमा कोइरालाको नाम क्षेत्रीय कमिटीबाट जिल्लामा सिफारिस भएको छ ।

प्रदेशसभाका लागि १ नम्बर क्षेत्रको (क)बाट दिलीप न्यौपाने, टिकाराम पंगेनी र सरिता कुमालको नाम छनोट भएको छ भने (ख)मा मनबहादुर गुरुङ र बसन्त बराल सिफारिस भएका छन् ।

२ नम्बर क्षेत्रको (क)मा एमाले जिल्ला अध्यक्ष कृष्ण थापा, धनराज आचार्य र हिराकुमारी गिरी सिफारिस भएका छन् भने (ख)मा सन्जीवबहादुर कोइराला, दानबहादुर बानियाँ र प्रभा कोइराला छानिएका छन् । निर्वाचन प्रक्रियामार्फत् उनीहरुको नाम चयन गरिएको हो ।

३ नम्बर क्षेत्रबाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ (क)मा दलबहादुर गुरुङ, नारायण बास्तोला र सरस्वती अधिकारीको नाम सिफारिस भएको छ भने (ख)मा दामोदर बैरागी, राजीव पहारी र देवका पहारीको नाम सिफारिस भएको क्षेत्रीय कमिटीले जानकारी दिएको छ ।

एमालेले प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार उम्मेदवार छनोट गरिएको एमाले जिल्ला अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

समानुपातिकतर्फका उम्मेदवार भने केही दिनभित्रै टुंगो लाग्ने एमाले कास्कीले जनाएको छ ।

कास्की एमालेमा विवाद, नेपालपक्ष ‘रिङ आउट’
उम्मेदवार छनोटमा पक्षपात गरिएको भन्दै केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।

गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाइपास गरेरै उम्मेदवार सिफारिस भएको उनीहरुको तर्क छ ।

सांसदहरु सीता गिरी वली र तुलबहादुर गुरुङले लिखितरुपमा निवेदन नै दिएर असहमति जनाएका छन् ।

उम्मेदवार सिफारिस भोटिङमार्फत् गरिएको भनिएपनि आफू चुनावी प्रक्रियामा सहभागी नै नभएको सांसद वलीले बताएकी छन् ।

‘केन्द्रले सहमतिमा नाम सिफारिस गर्न भनेको हो । यहाँ भोटिङ भनेर मलाई पाखा लगाइयो’–उनले भनिन्–‘यहाँ त सुरुमै तगारो लगाउने काम भयो । पार्टीको प्रदेश र केन्द्रको पनि ध्यानाकर्षण हुनुपर्छ ।’

अर्का सांसद तुलबहादुर गुरुङले आफ्नो सहमतिबिना उम्मेदवार सिफारिस गरेको भन्दै आपत्ति जनाएका छन् । उनले लिखित निवेदन नै बुझाएर निर्णय सच्याउन माग गरेका हुन् ।

‘एउटा विचारमा आस्था राख्नेलाई किनारा लगाएर सिफारिस पठाइएको छ । यो सरासर नियोजित हो’–उनले भने–‘पार्टीको निर्णय प्रजातान्त्रिक हिसाबले कार्यान्वयन हुनुपर्छ । तर, कसैलाई सिध्याउनका लागि निर्देशन लादियो, पार्टीभित्र अचाक्ली भो ।’

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुलाई ‘बाइपास’ गरेर उम्मेदवार सिफारिस गरिएको एमालेभित्रै गुनासो बढ्न थालेको छ ।

वली र गुरुङसँगै शान्त नेताकारुपमा छवि बनाएका र लामो समय एमालेको राजनीतिमा निरन्तर लागेका नेता श्रीनाथ बराल पनि सिफारिसको नाम ‘लिस्ट’बाटै ‘आउट’ भएका छन् । तीनैजना नेताहरु भोटिङबाट पराजित भएको सिफारिस समितिले जनाएको छ ।

यद्यपि, भोटिङको नाममा जबर्जस्ती गरेको उनीहरुको आरोप छ । तीनै नेता एमालेभित्र नेपाल पक्षका मानिन्छन् ।

ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रमजस्तै यसपटक पनि मतदानमा पु¥याएको एमाले नेताहरु नै बताउँछन् ।

कास्की माओवादीमा उम्मेदवार छनोट स्थगित
वाम एकताको अन्योलले माओवादी केन्द्र कास्कीमा उम्मेदवार छनोट रोकिएको छ ।

केही क्षेत्रमा उम्मेदवार टुंग्याएपनि चुनावी गठबन्धनका कारण तत्कालका लागि उम्मेदवार छनोट स्थगित गरिएको जिल्ला अध्यक्ष दीपक कोइरालाले जानकारी दिए । यद्यपि, केही क्षेत्रहरुमा उम्मेदवार टुंगिसकेको छ ।

माओवादीले क्षेत्र नम्बर–१ मा पूर्वमन्त्री देव गुरुङ र क्षेत्र नम्बर–२ मा कास्की इन्चार्ज राजकाजी गुरुङलाई उम्मेदवार बनाउने सर्वसम्मत् निर्णय गरेको छ ।

यस्तै, कास्की क्षेत्र नम्बर–२ को (क)मा गंगा पोखरेललाई सर्वसम्मत् प्रदेश सांसदका लागि उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष दीपक कोइरालाले जानकारी दिए ।

बाँकी उम्मेदवारका विषयमा भने गठबन्धनका कारण छलफल नै स्थगित भएको उनको भनाइ छ ।

३ नम्बर क्षेत्रमा पार्टीका कास्की सहइन्चार्ज रामजी बरालसहित पूर्वसभासद दुर्गा विक, भूमि पराजुली र नवराज भण्डारीको नाम चर्चामा छ ।