शंकर खनाल र राममान डंगोल (इमेज)
काठमाडौं, पुस २५ । संसदमा प्रतिपक्षको भूमिका प्रभावकारी नभएको आलोचना खेपेको नेपाली कांग्रेसले सरकारकै स्वरुपमा ‘छाया सरकार’ गठन गर्ने भएको छ ।
छाया सरकारमार्फत् कांग्रेसले सरकारको निगरानी गर्ने र संसदमा भूमिका प्रभावकारी बनाउने भएको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले जथाभावी काम गरेको भन्दै नेपाली कांग्रेसले त्यसको प्रतिवाद र निगरानी गर्न छाया सरकार गठन गर्ने भएको छ ।
आफ्ना सांसदहरुको विज्ञता र अनुभवका आधारमा कांग्रेसले छाया सरकारको स्वरुपलाई पूर्णता दिनेछ ।
नेपाली कांग्रेसभित्र संसदमा प्रभावकारी भूमिका निर्वाह नभएको भन्दै पार्टी नेतृत्वको चर्को आलोचना हुन थालेपछि नेपाली कांग्रेसले विधानमै भएको व्यवस्थाअनुसार छाया सरकार गठन गरेर सरकारको कामको निगरानी गर्ने भएको हो ।
तर, छाया सरकार कहिलेसम्म गठन हुने भन्ने विषयमा भने कांग्रेसभित्र अन्योल नै देखिएको छ ।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले छाया सरकारमा सहभागी हुन इच्छुक सबै सांसदलाई निवेदन दिन पार्टीले जानकारी गराइसकेको र विज्ञता र अनुभवका आधारमा उपयुक्त मन्त्रालयको जिम्मेवारी दिइने बताए ।
कांग्रेसले सरकारमा बसेर काम गरेको अनुभवका आधारमा युवा नेतालाई छाया सरकारमा प्राथमिकता दिनेछ ।
सरकार संसद नियमावली र कानुनअनुसार नचलेको तथा जथाभावीरुपमा अगाडि बढेको निष्कर्षसहित कांग्रेसको छाया सरकारले खबरदारी गर्नेछ ।
सरकार गठनको जिम्मेवारी प्रधानमन्त्रीले गरेजस्तै प्रतिपक्षको छाया सरकारको नेतृत्व संसदीय दलको नेताले गर्नेछन् ।
छाया सरकार गठनपछि मन्त्रालयगत र विषयगत आधारमा सरकारको कामको सूक्ष्म निगरानी कांग्रेसले गर्नेछ ।
‘क्याबिनेट’मा रहने मन्त्रालय बराबर नै छायामन्त्री बन्नेछन् भने मन्त्रीहरुबाटै छनोट गरी संयोजक पनि बनाइनेछ ।
त्यसैगरी, कांग्रेसले स्थानीय र प्रदेशस्तरमासमेत छाया सरकार गठन गर्ने बताइएको छ ।
तर, छाया सरकारका प्रावधानका विषयमा अझै प्रस्ट नभएको कांग्रेसभित्र जिम्मेवारी दिने सम्बन्धमा पनि अन्योल नै देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्