काठमाडौं, पुस २५ । राष्ट्रियसभाको आजको बैठकमा सांसद कोमल ओलीले ‘तपस्वी’ भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् ।
शून्य समयमा बोल्दै सांसद ओलीले सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयं आउँदासमेत प्रहरीले पक्राउ नगरेकोमा सरकारको ध्यानाकर्षण गराइन् ।
उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको उल्लेख गर्दै घटनाको बारेमा तत्काल अनुसन्धान गर्न र कारवाहीको प्रक्रिया अगाडी बढाउन मागसमेत गरिन् ।
हालसम्म बम्जनलाई किन पक्राउ नगरिएको हो भन्नेबारे राष्ट्रिय सभालाई जानकारी दिन पनि उनले सरकारसँग माग गरिन् ।
बैठकमा सांसद उदया शर्मा पौडेलले टुँडिखेल वरपर सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पुर्याएर रोक्ने गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
भृकुटीमण्डप, नेपाल एयरलाइन्स अगाडि तथा जमलमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको भन्दै उनले त्यस्ता ठाउँमा कम्तीमा यात्रुलाई झार्ने र चढाउने व्यवस्था गर्न माग गरिन् ।
सांसद चक्रप्रसाद स्नेहीले डडेलुधरामा सानाठूला गरी १६ पसलमा आगजनी भएको र करिब डेढ करोड रुपैयाँको क्षति भएको भन्दै अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति ध्यानाकर्षण गराए ।









प्रतिक्रिया दिनुहोस्