१२ भाद्र २०८२, बिहिबार | Fri Aug 29 2025


कर्मचारी समायोजन अध्यादेशप्रति स्वास्थ्य प्राविधिकहरुको आपत्ति (भिडियो)


0
Shares

प्रज्ञा तिमल्सिना र नवीन स्थापित (इमेज)

काठमाडौं, पुस २४ । हेल्थ असिस्टेन्टहरुले कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै मंगलबार स्वास्थ्य मन्त्रालयमा धर्ना दिएका छन् ।

१५ महिने अहेव तथा अनमी पढेकाहरुको अधिनमा आफूहरु काम गर्न नसक्ने भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

तीनवर्षे हेल्थ असिस्टेन्ट (एचए) पढी स्वास्थ्यचौकी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनीहरु कर्मचारी समायोजनले स्वास्थ्यका कर्मचारीलाई तहगत विभाजन गरेको भन्दै विरोधमा उत्रिएका हुन् ।

हेल्थ असिस्टेन्ट पढेकाहरु लोकसेवा पास गरी पाँचौं तहमा प्रवेश गरेका हुन्छन् भने १५ महिने अनमी पढेकाहरु चौथो तहमा प्रवेश गर्छन् ।

हेल्थ असिस्टेन्टहरुको तीन वर्षमा छैटौं तह र १० वर्षमा सातौं तहमा स्तरोन्नति हुन्छ ।

यस्तै, अनमीहरुको पनि तीन वर्षमा पाँचौं र १० वर्षमा छैटौं तहमा स्तरोन्नति हुन्छ ।

कर्मचारी समायोजनले तहगत समायोजन गर्दा छैटौं तहमा पुगेका अनमीको मातहतमा पाँचौं तहमा प्रवेश गरेका हेल्थ असिस्टेन्टहरुले काम गर्नुपर्ने बनाइएको छ ।

तीन वर्ष पढेर आएकाहरु १५ महिने कोर्ष पढेकाको मातहतमा बस्नुपर्ने अवस्था आएकाले आन्दोलनमा उत्रनुपरेको उनीहरुको भनाइ छ ।

यस्तै, १५ महिने कोर्ष गरेका अनमी, अहेवहरु पनि आफूहरु छैटौं तहमा पुगिसकेपछि पनि पाँचौं तहमा आएका हेल्थ असिस्टेन्टको अधिनमा बसेर काम गर्न नसक्ने बताउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. महेन्द्रप्रसाद श्रेष्ठले भने दुवै पक्षका माग जायज रहेको भन्दै स्वास्थ्य क्षेत्रमा यसले समस्या ल्याउने देखिएको बताए ।

यो समस्यालाइ कसरी मिलाउने भन्ने योजना भने मन्त्रालयसँग छैन ।

यस्तै, कर्मचारी समायोजनकै विषयलाई लिएर सरकारी चिकित्सकहरुले पनि आन्दोलन सुरु गरेका छन् ।

स्थानीय तहमा खटाइएका चिकित्सक प्रदेश र केन्द्र तहमा आउन पाउने कि नपाउनेलगायतका माग राखेर सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएको प्रवक्ता श्रेष्ठले बताए ।

भिडियो हेर्नुहोस्