Logo २ आश्विन २०८२, बिहिबार | Thu Sep 18 2025


माओवादी केन्द्र र नेकपा संयुक्तबीच पार्टी एकता


0
Shares

काठमाडौंको बुद्धनगर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता सम्पन्न भएको हो ।

पार्टी एकताको संयुक्त वक्तव्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा संयुक्तका अध्यक्ष गणेश साहले हस्ताक्षर गरेका छन् ।

पार्टी एकता कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष दाहालले ‘कम्युनिष्टहरुको बृहत् एकता र ध्रुवीकरणमार्फत् नेपालमा सामाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने जिम्मेवारी नेपालका कम्युनिष्टहरुको काँधमा आएको’ बताए ।

अध्यक्ष दाहालले भने–‘‘हामीले एकता र ध्रुवीकरणको नयाँ प्रक्रिया आरम्भ गरेका छौं, यो हाम्रा लागि निकै खुसीको कुरा हो । हामी कम्युनिष्टहरुको एकता र ध्रुवीकरणमार्फत् नेपालमा समाजवादी क्रान्ति र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने ठाउँमा छौं, त्यो जिम्मेवारी हामीले पूरा गर्नैपर्छ ।’

‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरिकाले सोचेन, एउटा नयाँ सोच र क्रमभंगकारुपमा हामी अहिलेको ठाउँमा आइपुगेका छौं’–अध्यक्ष दाहालले भने–‘कतिपय कम्युनिष्ट नेता र अग्रजहरु मन्दिरमा घन्टी बजाएझैं एकै ठाउँमा बसिरहनुभएको छ, हामीले त्यसो गरेनौं । निरन्तरतामा क्रमभंग गरेरमात्र क्रान्ति अगाडि बढ्छ । समाज अघि बढ्छ । हामीले त्यही क्रमभंगलाई आत्मसात् गरेका छौं, नयाँ पार्टी बनाएर, क्रान्तिको नयाँ सिद्धान्त विकसित गरेर समाजवादी क्रान्ति गर्ने सोचका साथ फेरि निरन्तरतामा क्रमभंग गरेका छौं ।’

एकता कार्यक्रममा नेकपा संयुक्तका अध्यक्ष गणेश साहले शान्तिपूर्ण राजनीतिक परिवर्तनमा अगाडि बढेको पार्टी क्रान्तिकारी विद्रोहको नेतृत्व गरेको पार्टीसँग एकता हुँदा कम्युनिष्ट आन्दोलनमा नयाँ गति पैदा हुने बताए ।

एकतासँगै नेकपा संयुक्तका तीन सांसद पनि माओवादी केन्द्रमा समाहित भएका जनाइएको छ ।

एकताको घोषणापूर्व माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा संयुक्तका अध्यक्ष गणेश साहले संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका थिए ।