Logo ३० भाद्र २०८२, सोमबार | Mon Sep 15 2025


भक्तपुरमा निःशुल्क ट्रायल परीक्षा सञ्चालन


0
Shares

भक्तपुरमा कार्यालय सञ्चालन गरेपछि दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको लिखित परीक्षा र अन्य सेवा दिँदै आए पनि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा भने आज(शनिबार)बाट सञ्चालन गरेको हो ।

भक्तपुर र काभ्रेलगायत पूर्वी जिल्लाका बासिन्दालाई सहजरुपमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक अर्थात ट्रायल परीक्षा निःशुल्क दिने व्यवस्था गर्न मध्यपुरथिमि नगरपालिका–९ राधेराधेस्थित इजी वे ट्रायल सेन्टर प्रालिसँग सम्झौता गरेको चार महिनापछि कार्यालयले भक्तपुर कार्यालयमा लिखित परीक्षा उत्तीर्ण गरेका नागरिकले भक्तपुरबाटै लाइसेन्सको ट्रायल परीक्षा दिन पाउने भएका हुन् ।

कार्यालय प्रमुख अनोज घिमिरेले दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिन अब काठमाडौँ जानु नपर्ने भएको बताए ।

उनले भने– “आजबाट भक्तपुरबाटै दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा लिन शुरु गरेका छौँ, केही समय पछि चारपाङ्ग्रे सवारीको पनि शुरु गर्नेछौँ ।”

आज पहिलो दिन ३७७ जनाले दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा दिएको उनले बताए ।

भक्तपुरको थिमिस्थित राधेराधेमा रहेको इजी वे ट्रायल सेन्टर प्रालिले सम्झौताअनुसार निःशुल्क ट्रायल परीक्षा सञ्चालन गर्न दिएको बताउँदै प्रालिका प्रमुख निर्भयबाबु प्रसाईंले साधन प्रयोग गर्न दिएबापतको रकम समेत नलिई निःशुल्क दिएको बताए ।

प्रसाईंले भने-“सम्झौताअनुसार यातायात व्यवस्था विभागलाई प्रयोगात्मक परीक्षा सञ्चालन गर्न निःशुल्क ठाउँ उपलब्ध गरायौँ, आवश्यक पर्ने सम्पूर्ण व्यवस्थासमेत गरिदियौँ, ट्रायल परीक्षा दिन आउनेलाई सवारीसाधन उपलब्ध गराएबापत समेत कुनै शुल्क लिएनौँ, निल्शुल्क नै गर्‍यौँ ।”

यातायात व्यवस्था कार्यालयले काठमाडौं र ललितपुरमा सञ्चालिन ट्रायल सेन्टरमा भने भेहिकल सोलुसन एण्ड रिसर्च सेन्टरले सवारीसाधन उपलब्ध गराएबापत सर्वसाधारणसँग शुल्क उठाउने गरिए पनि यहाँ भने निःशुल्क व्यवस्था गरिएको छ ।

भक्तपुर कार्यालयमा दैनिक ३०० भन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेको बताउँदै कार्यालय प्रमुख घिमिरेले पनि ट्रायल दिने स्थानको अभावले एकसातामा दुई पाङ्ग्रोेको ८५० र चारपाङ्ग्रेको २५० जनाभन्दा बढीलाई ट्रायल परीक्षामा सहभागी गराउन नसकिए पनि अब आउने जतिलाई परीक्षामा सहभागी गराउने सक्ने बताए । रासस