Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


पर्वतमा स्वास्थ्यकर्मीसहित ८१ जनाको स्वाब संकलन गरी पठाइयो


0
Shares

लक्ष्मीप्रसाद सापकोटा (इमेज)

पर्वत, असार ५ । जिल्ला अस्पताल पर्वतमा कार्यरत् दुईजना चिकित्सक र तीन महिला स्वास्थ्यकर्मीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिएको छ ।

अस्पतालका सबैजसो स्वास्थ्यकर्मी, उनीहरुका परिवार, उक्त अवधिमा उपचारका लागि आएका बिरामीलगायतका कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको हो ।

शुक्रबार स्वास्थ्यकर्मी र अरु गरी ८१ जनाको स्वाब संकलन गरिएको छ ।

८१ जनाको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ ।

जिल्ला अस्पतालमा कार्यरत् सम्पूर्ण कर्मचारी, अस्पताल परिसरमा रहेको चिया पसलका व्यवस्थापक तथा कोरोना ‘पोजिटिभ’ देखिएका स्वास्थ्यकर्मीका परिवार गरी ८१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको कोरोना रोकथाम जिल्लास्तरीय कमान्ड पोस्टका सूचना अधिकारी प्रविण भण्डारीले जानकारी दिए ।

उनकाअनुसार उनीहरु सबैको रिपोर्ट शनिबार (भोलि) बिहानसम्म आइपुग्ने छ ।

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा ‘इमर्जेन्सी’बाहेकका सबै सेवासमेत शुक्रबार बिहानैबाट बन्द गरिएको छ ।

अस्पताल प्रशासनले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै इमर्जेन्सीबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ ।

अस्पाताल क्षेत्र वरपर सुरक्षाकर्मी राखेरै आवगमनसमेत बन्द गराइएको छ ।

त्यस्तै, पर्वत सदरमुकाममा आवत–जावतमा समेत कडाइ गरिएको छ ।

स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएपछि पर्वत उद्योग वाणिज्य संघले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यक सामग्रीका पसलबाहेक अरु पसलहरु बन्द गर्न आह्वान गरेको छ ।

पर्वतमा पाँच स्वास्थ्यकर्मीसँगै ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहानसम्म ३८ जना भारतबाट आएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको थियो । उनीहरुमध्ये आठजना उपचारपछि ‘डिस्चार्ज’ भइसकेका छन् ।