Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


राजनीतिमा आपराधिकरण बढ्न लागेकै हो ? कसले दिइरहेको छ प्रश्रय ? (भिडियो)


0
Shares

दीपक श्रेष्ठ

काठमाडौं, पुस २२ । राजनीतिलाई समाज परिवर्तनको संवाहक मानिन्छ । राजनीतिक नेतृत्वबाटै मुलुकको आगामी बाटो तय हुन्छ । तर, पछिल्लो समयमा नेपाली राजनीतिमा आपराधिक पृष्ठभूमि भएका व्यक्तिले पुनः प्रवेश पाउन थालेका छन् ।

यसले नेपाली समाजलाई कता डोर्‍याउँछ भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिमा अपराधीकरण हावी हुन थालेकाले त्यसलाई जसरी पनि रोक्नुपर्ने भन्दै पटकपटक भाषण गर्छन् । तर उनै प्रधानमन्त्री ओलीले हालैमात्र जघन्य फौजदारी अपराधको आरोपमा पुर्पक्षका लागि हिरासतमा रहेका कैलालीबाट सांसद्मा निर्वाचित रेशमलाल चौधरीलाई सांसदको सपथ दिलाउन सहजकर्ताको भूमिका निर्वाह गरे ।

सांसद चौधरीको सपथपछि फौजदारी अपराधमा सजाय भोगिसकेका र अर्को अपराधको घटनामा मुद्दा खेपिरहेका मनाङबाट निर्वाचित प्रदेश सांसद दीपक मनाङ्गेको सपथको तयारी भइरहेको छ । पछिल्ला यी घटनाले नेपाली राजनीतिमा पुनः अपराधीकरण मौलाउँदै गएको प्रष्ट हुन्छ ।

ज्यान मार्नेजस्तो जघन्य अपराध होस् या भ्रष्टाचार गरेर देशलाई कंकाल बनाउने काममा संलग्न भएको नै किन नहोस्, उनीहरु राज्यका दृष्टिमा अपराधी हुन् । तर पछिल्ला दिनमा त्यस्तै व्यक्तिको प्रवेश नेपाली राजनीतिमा हुन थालेको छ । यसलाई समाजशास्त्रीहरुले राजनीतिक विचलनको संकेतको संज्ञा दिएका छन् । 

नेपाली राजनीतिमा अपराधिक पृष्टभूमि भएका व्यक्तिको प्रवेशलाई रोक्न कुनै पनि दलले पहल गरेको देखिँदैन । अझ राजनीतिक दलका शीर्ष नेताहरुले नै उनीहरुलाई प्रश्रय दिएको देखिन्छ । चुनाव खर्च जुटाउनेदेखि विपक्षीलाई तह लगाउनेसम्मका काममा आपराधिक पृष्टभूमिका व्यक्तिलाई शीर्ष नेताहरुले नै परिचालन गर्ने गरेको कतिपयको आरोप छ ।

सुशासनको नेतृत्व गर्नुपर्ने प्रधानमन्त्री आफैंले अपराधीकरणलाई प्रश्रय दिनु लज्जास्पद हो । निर्वाचनमा झन्डै दुई तिहाई बहुमत ल्याएको दलले मतदाताको विश्वासमा चोट पुग्ने गरी अपराध पृष्ठभूमिका व्यक्तिलाई काँधमा बोक्नु अशोभनीय हो । सांसद बनाउनु भनेको कानुन बनाउने वा सरकारमा रही त्यसलाई कार्यान्वयन गर्ने अधिकार प्रत्यायोजन गर्नु हो । यति जिम्मेवारपूर्ण वा संवेदनशील ठाउँमा स्वार्थ समूहको प्रवेशले राज्य सञ्चालन प्रणालीलाई बिटुलो बनाउँछ ।

आपराधिक क्रियाकलापमा संंलग्न वा आर्थिक अनियमिततामा डामिएका व्यक्तिलाई नल्याउँदा पनि राजनीति गर्न जनशक्तिको खाँचो हुने होइन । बरु त्यस्तालाई स्वागत गरी अवसरसमेत दिँदा इमानदार एवं निष्ठावान नेता तथा कार्यकर्तामा निराशा छाउँछ । भ्रष्ट र आपराधिक कर्ममा संलग्नलाई राजनीतिमा स्थान दिनु भनेको राजनीतिलाई अपराधीकरण गर्नु हो ।

भिडियो रिपोर्ट हेर्नुहोस्